पर्वत । पर्वतमा मकै खेती प्रवद्र्धनका लागि सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन हटेको छ । आर्थिक वर्ष २०७३/७४ मा फलेवास नगरपालिकाका ६ वडा समेटेर सञ्चालन भएको मकै जोन कार्यक्रम हटेको भएको हो । मकै जोनको क्षेत्र फलेवासबाहेक महाशिला गाउँपालिका र वहादी गाउँपालिकामा विस्तार गरिएको थियो ।
५ वर्ष अवधि रहने उक्त परियोजना तोकिएको समय सकिएपछि ‘फेजआउट’ भएको हो । जोनमा समेटिएको क्षेत्रका किसानलाई परियोजनाले अनुदान, कृषि प्रविधि, तालीम तथा प्रशोधनका लागि सहयोग गर्दै आएको थियो ।
मकै जोन कार्यक्रम हटे पनि पर्वतमा धान जोन विस्तार भएको छ भने चालू आवमा तरकारी जोनको कार्यक्रम तर्जुमा भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ कार्यालयका कृषि प्राविधिक अधिकृत नारायण पौडेलले जानकारी दिए ।
पर्वतको फलेवास नगरपालिका ४, ६, १० र ११ मा धान जोन सञ्चालनमा रहेको छ । यस वर्ष विहादी १, २, ३, ४ र ६ तथा पैयुँका सबै (६ ओटा) वडामा धान जोन विस्तार भएको पौडेलले बताए । कुश्मा नगरपालिकाको वडा ५ र ६ वडाबाहेक अन्य १२ ओटा वडामा धान जोन सञ्चालनमा छ । कुश्मामा २ वर्ष अघिदेखि धान जोन कार्यक्रम सञ्चालनमा छ । मोदी गाउँपालिकामा ५ र ६ मा पनि कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्लामा तरकारी जोनको प्रस्ताव गण्डकी प्रदेशको कृषि मन्त्रालयमा पेश गरिएको पौडेलले बताए । जोन बनाउन जलजला, कुश्मा र मोदी गाउँपालिकाको मध्यपहाडी लोकमार्ग क्षेत्रलाई समेट्ने लक्ष्य रहेको छ । जोन बन्न एक हजार हेक्टर क्षेत्रफल आवश्यक पर्छ । चालू आवमा भैंसी पकेट क्षेत्र, तरकारी ब्लक, सुन्तला जोन, ब्लक तथा पकेट क्षेत्र जिल्लामा सञ्चालनमा रहेका छन् । जलजलाको बाँसखर्क सुन्तला जोनमा समावेश गरिएको छ भने धाइरिङ, शालिजा र नाग्लीवाङ तरकारी पकेट क्षेत्रमा रहेको छ । मोदी, फलेवास, महाशिला र पैयुँमा सुन्तला पकेट क्षेत्र सञ्चालनमा छ । कृषिको व्यावसायिकीकरण, यान्त्रिकीकरण तथा प्राविधिकीकरणका लागि परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।