ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समुद्रपार व्यापारमा कोरोना असर : एक सातामै दोब्बर पुग्यो ढुवानी लागत

२०७८ भदौ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । समुद्रपार व्यापारमा सिपिङ कम्पनीहरूले कन्टेनर ढुवानीको भाडा ह्वात्तै बढाएका छन् । कोरोना महामारी शुरू भएयता बढ्न थालेको ढुवानी लागत अहिले उत्कर्षमा पुगेको व्यवसायीहरूले बताएका छन् ।

सेप्टेम्बरको पहिलो सातामै कन्टेनरको भाडा दोब्बर पुगेको आयातकर्ताले बताए । अगस्त अन्तिमसम्म चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा ३५ सयदेखि ४ हजार अमेरिकी डलर (डलर) रहेकोमा अहिले ८ हजार डलर तिर्दा पनि कन्टेनर पाउन नसकिएको आयातकर्ता आशिष लाठले बताए ।

विश्वव्यापी रूपमै कन्टेनरको माग र आपूर्तिमा देखिएको असन्तुलनले भाडा बढेको बुझाइ व्यवसायीको छ । यूरोपेली र अमेरिकी देशमा सेप्टेम्बरको शुरुआतदेखि नै मालसामानको माग बढेकाले कन्टेनरको अभाव देखिएको हो ।

यही मौका छोपेर सिपिङ कम्पनीहरूले भाडा बढाएको वीरगञ्ज उद्योेग वाणिज्य संघका सचिवसमेत रहेका लाठ बताउँछन् । व्यवसायीका अनुसार कोरोना महामारीबीच अघिल्लो वर्षको मार्चदेखि नै सिपिङ कम्पनीले भाडा बढाउन थालेका हुन् ।

यसअघि ५ हजार डलरसम्म पुगेको भाडा गत महीना ४ हजारसम्म झरेको थियो । ‘अहिले चिनियाँ बन्दरगाहमा ८ हजार डलर तिर्दा पनि आयातकर्ताले कन्टेनर पाएका छैनन्,’ सचिव लाठले भने ।

‘एक वर्षअघिसम्म चिनियाँ बन्दरगाहदेखि वीरगञ्जसम्म २० टनको कन्टेनर १५ सयदेखि २ हजार डलरसम्ममा ढुवानी भइरहेको थियो । गत महीनासम्म पनि ४ हजार डलरसम्म रहेको भाडा यो महीना लाग्नासाथै बढ्न थाल्यो,’ आयातकर्ता नवनीत अग्रवाललले भने ।

यूरोप र अमेरिकामा नयाँ वर्ष र क्रिसमसमा हुने व्यापारलक्षित मालसामानको माग बढेकाले चिनियाँ बन्दरगाहबाट ती मुलुकका लागि बढी कन्टेनर ‘बुक’ भएकाले अभाव देखिएको व्यवसायी ओमप्रकाश मोर बताउँछन् ।

‘चीनका व्यापारीले अहिले यूरोप र अमेरिकातर्फ आपूर्ति बढाएकाले कन्टेनर अभाव देखिएको हो । यसको प्रभाव हाम्रो व्यापारमा पनि परेको छ,’ मोरले आर्थिक अभियानसित भने, यसको प्रत्यक्ष मार उपभोक्ता मूल्यमा परेको छ ।’

कन्टेनर अभावको असर अमेरिकी र यूरोपेली देशबाट आउने कार्गोमा समेत परेको व्यवसायीले बताए । पश्चिमी देशबाट आउने कन्टेनरको ढुवानी भाडा पनि अत्यधिक बढेको वीरगञ्ज उद्योग वाणिज्य संघ सुक्खा बन्दरगाह तथा आईसीपी समितिका संयोजक सुशान्त चाचान बताउँछन् ।

अमेरिका र यूरोपमा माग बढेको र चीनबाट गएका कन्टेनर उतै रोकिएकाले त्यसको दाबाब भाडा देखिएको संघका सहसचिवसमेत रहेका चाचानको बुझाइ छ ।

‘यो माग र आपूर्तिबीचको असन्तुलनको उपज हो । अहिले वस्तुको कुल मूल्यमा ढुवानी खर्चको परिमाणमात्रै ३० प्रतिशतसम्म पुगेको छ । सामान्यतः यो १० प्रतिशत हुनुपर्ने हो, चाचानले भने ।

अमेरिका र क्यानडाबाट आउने गेडागुडी र दालको भाउ ≈वात्तै बढेको छ । यस्ता वस्तुको मूल्यमा अहिले नै ३० प्रतिशतसम्म मूल्य बढिसकेको छ । बढ्दो ढुवानी लागतकै कारण यो ६० प्रतिशतभन्दा माथि जाने अवस्था देखिएको आयातकर्ता बताउँछन् ।

कोरोना महामरीका कारण उत्पादमा कमी आउनु र ढुवानी भाडा अत्यधिक बढ्दा यस्ता उत्पादनको मूल्य बढेको आयातकर्ता मोरको भनाइ छ ।

कोरोना महामारीले बन्दरगाहरूमा कामदार आपूर्ति सहज हुन नसकेको र यसले लोडअनलोडमा ढिलाइ भइरहेको व्यवसायी बताउँछन् ।

बन्दरगाहमा पानी जहाजहरू १५/२० दिनसम्म पालो पर्खिएर बस्नुपर्ने भएकाले यसको चाप ढुवानी लागतमा परेको उनीहरूको बुझाइ छ ।

भारतीय बन्दरगाहबाट वीरगञ्जसम्मको रेल भाडा बढेको छैन । यो करीब १ हजार डलरकै हाराहारीमा रहे पनि सिपिङ कम्पनीहरूले समुद्रीमार्गको भाडा बढाएको व्यवसायीले बताएका छन् ।

निर्यातमा पनि बढ्यो लागत
निकासीतर्फ पनि ढुवानी भाडा बढेको व्यवसायी चाचान बताउँछन् । यसअघि भारतको कोलकाताबाट सिंगापुरसम्मको समुद्री भाडा २०० डलर रहेकोमा अहिले ६०० डलर पुगिसकेको जानकारी उनले दिए । दक्षिण कोरियाका लागि यसअघि ४०० डलर खर्च लाग्नेमा यो अहिले ९०० डलर भएको पनि उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)