ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

२०७८ भदौ, २४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ युवा उद्यमीलाई विनाधितो बिनाब्याज सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो ।

भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिउद्यमी ५ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम शुरू गरेको हो । ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएकाहरूलाई बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रममा बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बरबहादुर कार्की र बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा बैंकका शाखा प्रबन्धक जोशीले नगरपालिकाको सिफारिश अनुसार बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित समुदाय व्यवसाय विकास कर्जा गरी पाँच प्रकारका सहुलियतपूर्ण कर्जा लगानी गरिरहेको जानकारी दिए । बैंकले पहिलो चरणमा ६७ लाख ४० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गरेको उनले बताए । युवालाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गतवर्ष बैंक र नगरपालिकाबीच ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्वरोजगार सृजना गर्न र उद्यमशीलताको विकासका लागि ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरिएको बताए । उद्यमशीलता विकास कार्यक्रम निरन्तर चलिरहने भन्दै उनले दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन समेत दिएका छन् ।

नगरपालिकाले चाँडै दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक कार्कीले बताए । उनका अनुसार आवेदन संकलन गरी कार्यविधि अनुसार कर्जाका लागि उद्यमी छनोट गरिनेछन् ।

कार्यक्रममा सहुलियत कर्जा पाएका पोल्ट्री उद्यमी युवा जित पार्कीले विनाधितो विनाब्याज पाएको कर्जाले आफ्नो व्यवसाय विस्तारमा ठूलो सहयोग पुग्ने बताए । यसअघि वैदेशिक रोजगारीका लागि भारतमा रहेका पार्की स्वदेशमै उद्यम व्यवसाय गर्ने योजनासहित फर्किएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)