ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्यमी बनाउन रू. १ अर्ब ६४ करोड लगानी

२०७८ भदौ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी सृजना गर्नेदेखि लघु उद्यमीको स्तरोन्नति, प्रविधि हस्तान्तरण र साझा सुविधा केन्द्र (उद्यम घर) स्थापना गर्दासम्म रू. १ अर्ब ६४ करोड लगानी भएको छ । मन्त्रालयबाट सञ्चालित कार्यक्रम ‘गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)’ मार्फत यस कार्यक्रमका लागि कुल रू. २ अर्ब २४ करोड बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार एउटा नयाँ उद्यमी सृजना गर्दासम्म रू. २५ हजारदेखि रू. ३० हजारसम्म खर्च भएको छ । सरकारले ३६ हजार ४७९ जना नयाँ लघु उद्यमी सृजना गर्न रू. १ अर्बसम्म खर्चिएको छ । यसैगरी मेड्पाअन्तर्गत नयाँ उद्यमीका साथै उद्यमीको स्तरोन्नति, उद्यम घर र तालीम दिएकालाई शीपअनुसारको प्रविधि र सामूहिक रूपमा उद्यम घर निर्माण गर्दा कुल उक्त खर्च भएको मन्त्रालयका उपसचिव दिनेशसागर भुसालले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९)का कारण लक्ष्यअनुसार काम हुन नसकेको भुसालको भनाइ छ । उनले स्तरोन्नति गर्दा प्रति एक जनाका लागि रू. १० हजारदेखि रू. १२ हजारसम्म खर्च हुने किसिमले बजेट तोकेर पठाइएको जानकारी दिए । एउटा उद्यम घर बनाउन रू. ५ लाख लगानी गरिएको छ । मन्त्रालयका अनुसार गत आवमा १२ हजार १६३ लघु उद्यमीको स्तरोन्नति, १० हजार २०४ लघु उद्यमीहरूलाई नयाँ प्रविधि हस्तान्तरण गरिएको छ, भने ३४ साझा सुविधा केन्द्र बनेका छन् ।

नयाँ उद्यमी सृजनामा जस्तै स्तरोन्नतिको लक्ष्य पनि पुगेको छैन । गत आर्थिक वर्षमा यस कार्यक्रमअन्तर्गत ३३ हजार जना उद्यमीको स्तरोन्नति गरिने भनिए पनि जम्मा ३७ प्रतिशत लक्ष्य प्राप्त भएको छ । साझा सुविधा केन्द्र बनाउने लक्ष्य पनि जम्मा २३ प्रतिशत पूरा भएको छ । मेड्पा कार्यक्रमले १५० ओटा उद्यम घर बनाउने लक्ष्य राखेकोमा जम्मा ३४ ओटा केन्द्र स्थापना भएका छन् ।

प्रविधि हस्तान्तरण भने उल्लेख्य मात्रामा भएको पाइएको छ । १ हजार ५०० लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएकोमा २९ हजार ९२ नयाँ लघु उद्यमीले प्रविधि प्राप्त गरेका छन् । यसमा मौरीको घार, सिलाइकटाइका मेशिन, अचार बनाउने, बेसार बनाउने मेशिन तथा प्रविधिहरू उपलब्ध गराइएको भुसालले बताए । यस्ता प्रविधि तालीम सम्पन्न गरी प्रमाणपत्र दिने बेलामा उद्यमीलाई उपलब्ध गराइएको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरू भने यो कार्यक्रममा आकर्षित हुन नसकेको पाइएको छ । वैदेशिक रोजगारीबाट आएर बेरोजगार भएकालाई पनि यो कार्यक्रममा समेट्ने लक्ष्य लिइए पनि जम्मा २ हजार १२ जनाले यसमा सहभागिता जनाएका छन् । वैदेशिक रोजगारीबाट आएकाहरूले आपूmसँग शीप भएको तर पूँजी नभएको प्रतिक्रिया दिएको भुसालले बताए । उनीहरूले बैंकबाट सस्तोमा ऋण खोजेको देखिएको छ । उनले त्यसलाई सम्बोधन गर्न यो वर्ष सस्तो ऋण कसरी पाउने भन्ने निर्देशिका पुस्तक बनाउन लागिएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

अभय राज रेग्मि

[Sep 20, 2021 03:16pm]

याे कार्यक्रम कति प्रभाबकारि भयाे भन्ने कुरा काठमाडौं बाट हेरेर हुदैन फिल्डमा अाउनु मेराे चुनाैति हाे कति जना उधमि बनाउनु भाे म हेर्नू छ हजुरलाई निम्ताे भाे हजुरका उधमि मलाई हेर्न मन छ



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)