ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तयारी छालाको निकासी घट्यो

२०७८ भदौ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । परिवर्त्य विदेशी मुद्राको स्रोतका रूपमा रहेको तयारी छालाको निकासी क्रमशः घट्न थालेको छ । विश्वव्यापी कोरोना महामारीका कारण तयारी छालाको माग घटेपछि निकासीमा कमी आएको हो ।

विराटनगर नाकाबाट एशिएन लेदर इन्डस्ट्री, नेपाल ट्यानिङ इन्डस्ट्री र युनाइटेड लेदर गरी तीनओटा उद्योगले भारत र समुद्रपारका मुलुकमा छालाको निकासी गरिरहेका छन् । विराटनगरको एक उद्योग बन्द छ ।

विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १० करोड ५९ लाख ४ हजार १ सय ९० रुपैयाँ बराबरको ८ लाख २१ हजार ६ सय २९ किलोग्राम छालाको निकासी भएको छ जुन अघिल्लो आव २०७६/७७ को भन्दा थोरै हो ।

अघिल्लो आव २०७६/७७ मा विराटनगर नाकाबाट १० करोड ९१ लाख १३ हजार ५ सय ६९ रुपैयाँ बराबरको २३ लाख ४९ हजार ६ सय ४० वर्ग फिट छाला निकासी भएको थियो । आव २०७६/७७ मा भन्दा २०७७/७८ मा ३२ लाख रुपैयाँ कम्तीले निकासी भएको हो । आर्थिक वर्ष २०७६/७७ मा नेपाली छाला अन्तरराष्ट्रिय बजारमा प्रतिवर्ग फिट ४६ रुपैयाँ ४४ पैसाका दरले निकासी भएको थियो ।

तर, आव २०७६÷७७ भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भने निर्यातकर्ताले केही राम्रो मूल्य पाएका थिए । उक्त आवमा प्रति वर्ग फिट ४९ रुपैयाँ ७७ पैसाका दरले निकासी गरिएको थियो । कार्यालयका अनुसार आव २०७५/७६ मा २८ करोड ७८ लाख २८ हजार ९ सय ४७ रुपैयाँ मूल्यको ५७ लाख ८३ हजार १० वर्गफिट छाला निकासी गरिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ छालाका निकासीकर्ताका लागि स्वर्णिम वर्ष भएको देखिएको छ । यस आर्थिक वर्षमा निर्यातकर्ताले प्रतिवर्गफिट छालाको ७३ रुपैयाँ २० पैसा पाएका थिए । उक्त आवमा ३७ करोड ६१ लाख १५ हजार मूल्यको ५१ लाख ३८ हजार १ सय १९ वर्गफिट छाला निकासी भएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ ।

नेपालबाट भारत, चीन, इटली, मेक्सिको, फ्रान्स, टर्की, ल्याटिन अमेरिकालगायत देशमा प्रशोधित छालाको निकासी गरिन्छ । एशियन लेदर इन्डस्ट्रिजका सञ्चालक हसन अन्सारीका अनुसार छालाको व्यवसायमा विश्वव्यापी मन्दी आएको छ । एशियन लेदरले मेक्सिको, फ्रान्स, ब्राजिल र इटलीलगायत मुलुकमा छालाको निकासी गर्दै आएको छ । यसपटक पनि ती मुलुकबाट केही अर्डर आएका छन् । तर, कोलकाताका सिपिङ एजेन्सीले कन्टेनर दिन मानिरहेका छैनन् । बितेका १८ महिनायता कन्टेनरको भाडादर करीब ४ गुनाले बढिसकेको छ तर पनि सिपिङ लाइनरले दिन मानेका छैनन् ।

उद्यमी अन्सारीले कोलकाता बन्दरगाहबाट चीनसम्मको एक कन्टेनरको भाडादर ७ सय डलरबाट २२ सय डलर र इटलीसम्मको भाडादर १ हजार ४ सय डलरबाट ४ हजार २ सय डलर पुग्दा पनि भनेका समयमा कन्टेनर नपाइएको गुनासो गरे । उनले छालाको निर्यातलाई सहज बनाउन नेपाल सरकारअन्तर्गतको परिवहन विभागले पहल र सक्रियता देखाउनुपर्ने बताए ।

‘समयमा ढुवानीको व्यवस्था गर्न नसकेपछि हामीले निर्यात–आपूर्तिको अर्डर कसरी लिने ? समस्या भएको छ,’ अन्सारीले भने, ‘त्यसैले निर्यातलाई सहज बनाउन सरकारी निकाय नै सक्रिय हुनुपर्छ ।’ नेपाल लेदर्स–ट्यानर्स एशोसिएशनका उपाध्यक्ष एवम् युनाइटेड लेदरका सञ्चालक परवेज अख्तरले नेपालका छाला उद्योगले स्वदेशी कच्चा पदार्थ ८० प्रतिशतभन्दा बढी प्रयोग गरिरहेको दाबी गरे । उद्यमी परवेजले तर विगत ४ वर्षदेखि छालाका निर्यातकर्ताले सरकारबाट पाउनुपर्ने इन्सेन्टिभको रकम नपाएको गुनासो गरे । उपाध्यक्ष परवेजको भनाइ छ, ‘हामीले विगत ४ वर्षदेखि इन्सेन्टिभको रकम पाएका छैनौं ।’ उनले आफूले इन्सेन्टिभको २५ लाखभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)