ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी

हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट शुरू गर्‍यो कन्टेनर ढुवानी

२०७८ भदौ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा थालेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहका लागि हिँडेको महावाणिज्यदूत ईश्वरराज पौडेलले आर्थिक अभियानलाई बताए । सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधवारसम्म वीरगञ्ज आइपुग्ने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले बताएको छ ।

नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताए । ‘रेलवे ढुवानी सेवामा निजी कम्पनी भित्रिएपछि एकाधिकारको अन्त्य भएको छ । यसले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ,’ उपमहावाणिज्यदूत भट्टले भने ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो ।

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । यसबाट नेपालको ढुवानी प्रतिस्पर्धी हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।

ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजीक्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने सुझाव संयोजक टेमानीको छ ।

अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगञ्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको अधिकारीहरूले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)