ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङका किसानलाई स्याउ टिप्ने चटारो

२०७८ असोज, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

असोज ४, म्याग्दी । मुस्ताङमा यतिबेला स्याउ टिप्ने चटारो शुरू भएको छ ।

जिल्लाका मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायत ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरू स्याउले राताम्मे भएका छन् ।

पाँचओटा गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी शुरू गरेका हुन् । विगतका वर्षहरूमा तीजअघि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न शुरू गरिएको मार्फाका स्याउ किसान दीपक लालचनले बताए ।

अहिले स्याउ खरीद गर्नका लागि स्थानीयसहित बाहिरी जिल्लाका व्यापारी बगैंचामै पुगेको किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरीद गर्न व्यापारीहरू बगैंचा नै ठेक्कामा लिन्छन् ।

मुस्ताङको स्याउ खरीद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतन, धादिङ, काठमाडौंलगायत ठाउँबाट व्यापारीहरू पुग्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कृषि अधिकृत शिव अर्यालले बताए । अहिले स्याउ खरीद गर्न पुगेका व्यापारी र कामदार स्याउको बगैंचा कुरेर बसिरहेका छन् । मुस्ताङमा यस वर्ष स्याउ टिप्न, खरीद गर्न र भ्रमणका लागि आउनेहरूलाई कोरोना परीक्षणको रिपोर्टसहित कोरोनाविरुद्ध लगाइएको खोपकार्ड लिएर आउन अनिवार्य गरिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका र खोप कार्ड लिएर आएकाहरूलाई मात्र प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी डेलिसियस जातका स्याउको उत्पादन हुने गरेको छ । जिल्लामा केही समयदेखि इटालियन जातको स्याउसमेत लगाइएको छ । यहाँ उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, भैरहवा लगायत बजारमा पुग्ने गरेको छ । साथै स्थानीय किसानहरूले स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाइडर जस्ता चिज बनाएर समेतविक्री गर्ने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)