वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३/७४ को तुलनामा बितेको आव २०७७/७८ मा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको हो ।
वीरगञ्ज भन्सारबाट बितेका वर्षहरूमा व्यापारको आकार बढेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वर्षेनि भइरहेको मूल्यवृद्धिका कारण अयातनिर्यातको मूल्य बढी देखिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
पछिल्ला वर्षहरूमा औसत वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेकाले वैदेशिक व्यापारको परिमाण पनि बढी देखिएको पौडेलको भनाइ छ । बितेको आव २०७७/७८ मा वीरगञ्ज भन्सारबाट कुल ३ खर्ब १३ अर्ब २४ करोड १९ लाख रुपैयाँको मालसामान आयातनिर्यात भएको छ । यो परिमाण आव २०७३/७४ मा १ खर्ब ८५ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबर थियो ।
वीरगञ्ज नाकाबाट आयातसँगै निर्यात व्यापारको परिमाण पनि बढेको तथ्यांकले देखाउँछ । ५ वर्षअघि साढे १३ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएकोमा बितेको वर्षसम्ममा यो परिमाण ४ गुणा बढेको छ । आव २०७७/७८ मा यो नाकाबाट ५२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार भएको तथ्यांक भन्सारसित छ ।
यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणको बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुसजाम, कपडा, जुत्तालगायत वस्तुको वर्चस्व रहेको भन्सारले बताएको छ ।
गतवर्षको निर्यातमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निकासी उल्लेख्य छ । त्यसअघि प्रशोधित पाम तेलमा भारतले रोक लगाएपछि निर्यातकर्ता भटमास र सूर्यमुखीमा तेल निकासीमा केन्द्रित भएका थिए । भारतले फुकुवा गरेपछि पाम तेलको निकासी पुनः शुरू भएको भन्सारले बताएको छ ।
वीरगञ्ज नाकाको अवस्थिति र पूर्वाधार सहज भएर पनि यो नाकाबाट अपेक्षा गरेअनुसार व्यापार भने नबढेको प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् । उपभोग संस्कृति र वस्तुको मूल्य बढेकाले व्यापारको मूल्य तुलनात्मक बढी देखिएको छ । तर, यो नाकाबाट अपेक्षित व्यापार अझै हुन सकेको छैन,’ उनले आर्थिक अभियानसित भने । बितेका २ आर्थिक वर्षमा कोरोना महामारीका कारण पनि व्यापार घटेको उनले बताए ।
वर्ष २०७६/७७ बाहेक अन्य सबै वर्ष व्यापार तुलनात्मक रूपमा बढेको देखिन्छ ।
त्यस वर्ष सरकारले लिएको आयात निरुत्साहनको नीति र कोरोना महामारीका कारण वैश्विक व्यापारमा आएको कमीको प्रभाव नेपालको वैदेशिक व्यापारमा पनि परेको हो ।
विगतमा २०७२ को मधेश आन्दोलनताका आयातकर्ता वीरगञ्जबाट भैरहवा र विराटनगर नाकातिर गएका थिए । ६ महीनासम्मको बन्दहडताल र नाकाबन्दीका कारण नाका परिवर्तन गरेका व्यवसायी अझै वीरगञ्ज नाका फर्किइनसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया बताउँछन् । ‘अर्को नाकातिर गएपछि व्यवसायीले त्यहाँ आफ्नो पूर्वाधार बनाइसकेका हुन्छन् । त्यसलाई छोडेर आउन त्यति सहज हुँदैन,’ उद्यमी केडियाले भने । प्रमुख भन्सार अधिकृत पौडेलले पनि वीरगञ्ज नाकाबाट गाडी र भारतीय तयारी कपडाका आयातकर्ता भैरहवा नाकातिर गएको बताए । वीरगञ्जबाट भित्रिँदै आएको समुद्रपार व्यापार विराटनगर नाकातर्फ केन्द्रित भएको पनि उनले जानकारी दिए । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापार सहजीकरण गरी समय र खर्च घटाउने उपायमा केन्द्रित भएको पौडेलको भनाइ छ । ‘आयातनिर्यातमा लाग्ने खर्च र समय घटाउन वीरगञ्जस्थित एकीकृत जाँच चौकीको भारतीय पक्षसित पहल भइरहेको छ । भन्सार प्रशासन वीरगञ्ज नाकाबाट हुने व्यापारको लागत घटाउन निरन्तर प्रयासमा छ,’ उनले भने ।
जुन नाकाबाट व्यापार गर्दा सहज हुन्छ, आयातकर्ता त्यतैतिर जानु स्वाभाविक भएको केडिया बताउँछन् ।