ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा हाइड्रोजन ऊर्जा : उत्पादनको सम्भावना, गृहकार्य शून्य

२०७८ असोज, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । औद्योगिक कच्चा पदार्थदेखि पेट्रोलियम पदार्थको विकल्पका रूपमा समेत हेरिएको हाइड्रोजन ऊर्जा उत्पादनका विषयमा नेपालमा गृहकार्य नै शून्यप्रायः देखिएको छ । हाइड्रोजन ऊर्जाको अध्ययन, अनुसन्धानका साथसाथै व्यावसायिक उत्पादन र प्रयोगका विषयमा नेपालले अहिलेसम्म कुनै नीति, नियम नै बनाउन सकेको छैन ।

नेपालले जलवायु परिर्वतनसम्बन्धी पेरिस सम्झौता (२०१५)मा पक्ष राष्ट्र हुँदै हस्ताक्षर गरिसकेको छ, भने सन् २०१६ दिगो विकास लक्ष्य (एसडीजी) अहिले कार्यान्वयनमा छ । एसडीजीको बुँदा ७ र १३ मा पनि नवीकरणीय ऊर्जाको अंशलाई वृद्धि गर्ने र जलवायु परिवर्तनसम्बन्धी जोखिमहरूको सामना गर्न अनुकूल क्षमता वृद्धि गरिने भनिएको छ । यी विषयका बीच हालसम्म सरकारी तहबाट हुने अध्ययन अनुसन्धान र नीतिगत प्रयास भएको देखिँदैन ।

जलवायु परिर्वतनबाट सृजित समस्या र कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्ने विषयलाई नेपालले आत्मसात् गरे पनि व्यवहारतः यस्तो देखिएको छैन । काठमाडौं विश्वविद्यालयले (केयू) भने २०२० को अगस्तदेखि यसको अध्ययन शुरू गरेको छ । सोही अध्ययनअनुसार नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन गर्न सकिने र यसका खपत क्षेत्रहरूको पनि पहिचान भएको छ । ठोस नीतिगत, कानून, संस्थागत संरचना, लगानीका विषयमा सरकारले यसलाई प्राथमिकता दिए हाइड्रोजन ऊर्जा उत्पादन टाढाको विषय नभएको अधिकारीले बताएका छन् ।

केयूका सहायक प्राध्यापक तथा केयूको ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर बिराज सिंह थापाले हरित हाइड्रोजन ऊर्जा उत्पादन सम्भव भएको बताए । उत्पादनको सम्भावना र क्षमता देखिए पनि यसमा राज्यको नीति कस्तो हुन्छ भन्नेमा भर पर्ने उनले बताए । ‘नेपालमा बन्दै गरेको हाइड्रो पावर छ त्यसमा भएको ठूलो लगानीलाई खेर जान दिनु भएन,’ उनले भने, ‘त्यसको उचित प्रयोग गर्न धेरै उत्पादन भएका बेला भण्डारण गर्न हाइड्रोजन ऊर्जा उपयुक्त माध्यम बन्न सक्छ ।’

नेपालमा पेट्रोलियम पदार्थको आयात अधिक भएको र यसले पर्यावरणमा पनि असर गरेको हुँदा पनि नेपालले यो विकल्पमा जानु आवश्यक रहेको उनको भनाइ छ । साथसाथै इन्धनको आयातबाट हुँदै आएको व्यापारघाटालाई कम गराउन पनि वैकल्पिक ऊर्जामा जानु जरुरी रहेको उनले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले हाइड्रोजन ऊर्जालाई अब प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए । ‘यसको गृहकार्यमा ढिलाइ भएको हो तर अब केही अघि बढेको छ,’ उनले भने, ‘जसरी हस्ताक्षर र एसडीजीमा पनि आएको छ, त्यसअनुसारको तयारी नपुगेको हो ।’ यसमा सुरक्षाको कुरा, यातायातमा प्रयोग भएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन, भण्डारण, प्रयोग जस्ता विषयहरूमा पर्याप्त अनुसन्धान हुन बाँकी छ ।

ग्रीन हाइड्रोजनलाई प्रयोगमा ल्याउनुपर्छ भनेर अहिले केयूले अध्ययन शुरू गरेको छ । यसमा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र नेपाल विद्युत् प्राधिकरणले सहयोग गर्ने उनले बताए । उनले केयूले निकाल्ने निष्कर्ष पनि पर्खिएको बताए । यसै क्रममा ‘नेपालका लागि हरित हाइड्रोजन ऊर्जा’ कार्यक्रम पनि आयोजना गरिएको छ । नेपाल आयल निगम, केयू र नेसनल मिडिया सेन्टरको सहकार्यमा सोमवार काभ्रेको धुलिखेलमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातलाई कम गराउन वैकल्पिक ऊर्जा जरुरी भएको र यसको उचित विकल्प हाइड्रोजन ऊर्जा भएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)