ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डन्डी उद्योगमा लगानी थपिँदै

२०७८ असोज, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरन र बिलेट आयातमा लिएको नीतिसँगै फलामे छड उत्पादकहरूले बिलेट उत्पादनमा लगानी थप्ने देखिएको छ । यद्यपि दुई कित्तामा बाँडिएका अर्काथरी व्यवसायीहरू भने यो निर्णय सच्याउन लागिपरेका छन् । स्पन्ज आइरनमा शून्य भन्सार दरको घोषणापछि स्वदेशी उद्योगीहरूले नेपालमै बिलेट उद्योगको क्षमतालाई विस्तार गर्न लगानी थप्ने भएका हुन् ।

नेपालमा वार्षिक १४ लाख ६ हजार मेट्रिक टन (मेटन) बिलेट उत्पादन गर्ने क्षमता छ भने माग वार्षिक १२ लाख मेटन छ । फलामे छड उत्पादक कम्पनीहरूले क्षमताको ५० प्रतिशत पनि उत्पादन गर्दैनन् । भारतबाट आयात हुने स्पन्ज आइरन र बिलेटबाट डन्डी बनाउन सस्तो पर्ने भएपछि उद्योगहरूले क्षमता उपयोग गरेका थिएनन् । अहिले उद्योगहरूले जम्मा ३० प्रतिशत क्षमतामा मात्रै बिलेट उत्पादन गर्दै आएका छन् ।

यो खुम्चिएको उत्पादन क्षमतालाई विस्तार गर्न र सस्तो मूल्यमा उपभोक्तालाई डन्डी उपलब्ध गराउन लगानी विस्तारको तयारी गरेको सौरभ ग्रूपका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अहिले यस्ता उद्योग १२ ओटा छन् भने तत्काल नै रू. ६ अर्बदेखि रू. १० अर्बसम्मको लगानी बिलेट उद्योगमा हुनेछ । स्पन्ज आइरन आयातमा शून्य भन्सार दर लागू भएपछि यसको आयात सस्तो पर्ने र स्वदेशमै बिलेट उत्पादन हुँदा डन्डीमा शुरूमा प्रतिकेजी रू. ३ सस्तो हुने र दीर्घकालीन रूपमा प्रतिकेजी रू. ५ भन्दा बढी सस्तो हुने उनको भनाइ छ ।

अहिले डन्डीको फ्याक्ट्री मूल्य सरदर प्रतिकेजी रू. ८५ सम्म पुगेको छ भने बजार मूल्य सरदर रू. ९५ पुगेको व्यवसायीहरू बताउँछन् । ‘अहिले नेपालको बिलेट उत्पादन क्षमताअनुसार उत्पादन भएको छैन,’ न्यौपानेले भने, ‘यसअघि नेपालमै बिलेट उत्पादन गर्दा महँगो पर्थ्याे, किनभने आयात गर्दा नै सस्तो हुने भएकाले उद्योगहरू पूर्ण क्षमतामा चल्न पाएनन् ।’ ‘हामीले आफ्नै बिलेट उत्पादन गर्न सक्ने हुँदाहुँदै पनि बिलेट आयात गरेर उद्योग चलाएका थियौं,’ उनले भने, ‘सरकारको निर्णयले अब भने यी उद्योगहरू पूर्ण क्षमतामा चल्नेछन् ।’

यो निर्यणसँगै बिलेट उत्पादन गर्ने क्षमता बढ्ने र तत्काल उक्त लगानी थपिने उनले बताए ।

लगानी थपिँदै गर्दा थप ३०० मेगावाट बिजुली आवश्यक पनि पर्छ । डन्डी बनाउन कम्तीमा एउटा उद्योगलाई १ मेगावाट बिजुली आवश्यक पर्छ भने बिलेट उत्पादन गर्दा ८ मेगावाट आवश्यक पर्ने उनको भनाइ छ । अहिले स्पन्ज आइरन आयातका साथसाथै धौबादी फलाम खानीबाट निकालिने कच्चा फलामबाट पनि स्पन्ज आइरन बनाइनेछ । ‘स्पन्ज आइरनबाट छड उत्पादन गर्दा सस्तो पर्ने भएर नै अहिले रोलिङ मिल्सका व्यवसायीहरू असन्तुष्ट बन्नु भएको छ,’ उनले भने, ‘उहाँहरूले महँगोमा ल्याउने र महँगोमै विक्री गर्ने भनिरहनु भएको छ, त्यो गलत हो ।’ विधेयकले बिलेट आयातको अन्तःशुल्क प्रतिटन रू. १६५० बाट बढाएर रू. २५०० पुर्‍याएको तर स्पन्ज आइरनको भन्सार दर शून्यमा झारिदिएपछि उत्पादकहरू नै २ कित्तामा विभाजन भएका छन् । सरकारको यो निर्णय सच्याउन माग गर्दै एकथरीले अहिले बिलेट आयात नै ठप्प बनाएका छन् ।

पञ्चकन्या ग्रूपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले २४ ओटा उद्योगले अहिले कच्चा पदार्थ नै नल्याएको र यसले गर्दा सरकारले संकलन गर्ने राजस्वमा पनि कमी आउने बताए ।

‘अन्तःशुल्क नै बढाएपछि कच्चा पदार्थ बिलेट ल्याउने कुरा भएन,’ श्रेष्ठले भने, ‘ती उद्योगले कच्चा पदार्थ नल्याएपछि सीधै उत्पादनमा असर गर्छ भने लागत पनि बढ्ने भएकाले बजार मूल्य पनि बढ्ने निश्चित छ ।’ स्पन्ज आइरन तथा स्क्रबबाट बिलेट उत्पादन गर्दा प्रदूषण हुने भएकाले वातावरण पनि बिग्रने, बाहिरबाट जनशक्ति ल्याउने भएकाले रोजगारी पनि सृजना नहुने र अर्काेतर्फ प्रतिकेजी रू. १० को अन्तर हुने उनको भनाइ छ । स्पन्ज र स्क्रबबाट डन्डी बनाउँदा स्ट्रेन्थ नै नपुग्ने भएकाले गुणस्तरीय पनि नहुने उनको दाबी छ । विकास निर्माणको सिजन शुरू हुँदै गर्दा व्यवसायीहरूबीच देखिएको यो समस्याले निर्माण सामग्री डन्डीको उपलब्धतामा समेत आशंका जन्माइदिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)