ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने

सन् २०२२ मा ४ दशमलव १ प्रतिशत हुने एडीबीको प्रक्षेपण

२०७८ असोज, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ ।

नेपालमा जारी कोभिड–१९ विरुद्घको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्घिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो ।

एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदरमा अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३ दशमलव १ प्रतिशत र २०२२ मा ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि प्राप्त हुने प्रक्षेपण गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।

‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीका नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरूका कारण २०२१ मा क्रमिक आर्थिक सुधार बढाउन सक्छ ।’

प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषिक्षेत्रमा वृद्घि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरू र प्रभावित व्यवसायहरूका लागि सहुलियत प्रदान गरिएकाले अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरूका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरू बढेकाले आर्थिक वृद्घिमा सहयोग पुग्ने औंल्याइएको छ । ‘ट्रेकिङ रूट र आरोहण खुलेसँगै विदेशी पर्यटक आवागमन बढ्न सक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुराँ, यात्रा र पर्यटन कोभिड–१९ महामाारीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०२२ मा मूल्य वृद्धि ५ दशमलव २ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्य वृद्धि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्य वृद्धि बढ्न सक्ने अनुमान छ ।

कोरोना कालमै विप्रेषण आप्रवाहमा खासै प्रभाव नपरेको तथा विदेशी मुद्राको सञ्चितिमा दबाब सृजना हुने खतरा नभएको एडीबीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस वर्ष चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । गएको वर्ष यस्तो घाटा ८ प्रतिशत थियो ।

एडीबीले सन् २०२१ मा एशियाको आर्थिक वृद्घिदर ७ दशमलव १ प्रतिशत कायम हुने अनुमान गरेको छ । यसअघि ७ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । २०२१ शुरू भएपछि फेरि कोरोना भाइरसको संक्रमण यो क्षेत्रमा बढेको भन्दै वृद्धिदर पहिलेको अनुमानको तुलनामा घटाइएको हो । २०२२ मा ५ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

दक्षिण एशिया क्षेत्रको वृद्घिदर भने ८ दशमलव ८ प्रतिशतले हुने बैंकले अनुमान गरेको छ । यसअघि ९ दशमलव ५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । सन् २०२२ मा यो क्षेत्रमा ७ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतमा यो वर्ष १० प्रतिशत र अर्को वर्ष ७ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)