पर्वत । पहिरोका कारण पर्वतको कुश्मा नगरपालिकाको एक गाउँका बासिन्दा विस्थापित हुने अवस्थामा रहेका छन् । कुश्मा नगरपालिका–११ सिल्मीगाउँमा पहिरोले क्षति पु¥याएपछि बस्नै नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् ।
गाउँको शिरानदेखि पुछारसम्म सयौं पहिरो छन् । विद्यालय जाने बाटो बन्द छ । ‘पहिरोले सडक भत्किएपछि बिरामी परेमा डोकोमा बोकेर मूल बाटोसम्म ल्याउने बाध्यता छ,’ स्थानीय कृष्णबहादुर केसीले भने, ‘पूरै गाउँ पहिरोको चपेटामा परेकोमा चिन्तित छौं । पहिरो नभएको कुनै टोल छैन, आँगन र करेसाबारी कसैको सद्दे छैन ।’ गाउँमा भदौ १८ गते आएको पहिरोले पाँचजनाको मृत्यु भएको थियो । पहिरोबाट जोगिएकाहरू पनि त्रासमा छन् । स्थानीय टेकबहादुर नेपालीको घरसहित खेत बगरमा परिणत भयो ।
गाउँका ३० परिवारले उपभोग गर्दै आएको खानेपानीको ट्यांकी पनि पहिरोले पुरिएको छ । पानी नहुँदा आफूहरूलाई दिनचर्या चलाउन समस्या भएको स्थानीय रामप्रसाद सुवेदीले बताए ।
यो गाउँका ५० परिवार पहिरोको चपेटामा छन् । घर सद्दे भएकाहरू पनि राति छिमेकी गाउँमा सुत्न जान्छन् । त्यसैले आफूहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने स्थानीय रुक्मिणी सुवेदीको माग छ । पहिरोले मूल बाटो, सहायक बाटो र पैदलमार्ग सबै पुरिएका छन् ।
पहिरोले घर र विद्यालय भत्किएपछि विस्थापितहरू खुलाचौरमा छन् । स्थानीय सरकारले मात्रै पहिरो पीडितको माग सम्बोधन गर्न सक्ने स्थिति नरहेको तर प्रयास भने भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । परिवारका सदस्य गुमाएका परिवारलाई नगरले १ लाख, घर भत्किएका परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको जोशीले बताए । राहत तत्कालका लागि समाधान भए पनि स्थानीयलाई सुरक्षित राख्न स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उनका अनुसार सिल्मीमा मात्रै नभएर पकुवा, दुर्लुङ, ठूलीपोखरी, खौलालाँकुरी गाउँलाई पनि पहिरोबाट बचाउनुपर्ने माग गरिएको छ ।