ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–नौबीसे–मलेखु सडक : रू. १६ अर्बको परियोजना पर धकेलिँदै

२०७८ असोज, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल सरकार र विश्व बैंकको लगानीमा निर्माण हुने नागढुंगा–नौबीसे–मलेखु सडक ठेक्का लाग्ने समय पर धकेलिएको छ । गतवर्षको माघमा प्रिक्वालिफिकेशन (पीक्यू) मा ४२ ओटा कम्पनी छनोट भए पनि हालसम्म रू. १६ अर्ब लागतको उक्त सडक परियोजना निर्माण प्रक्रिया शुरू हुन सकेको छैन ।

प्रिक्वालिफिकेशनमा छनोट भएका कम्पनीलाई आर्थिक प्रस्तावका लागि आ≈वान गरिने भए पनि यसमा नै समय लागेको र दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोक्न लगाइएको निषेधाज्ञाका कारण ठेक्काको समय पर धकेलिएको छ । सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेलले पीक्यूको कागजातहरू विश्व बैंकबाट स्वीकृत भएर आउन नै ३ महीना लागेको र नेपालमा पनि निषेधाज्ञाको समयमा ठेक्का निकाल्न नपाइने व्यवस्थाका कारण निर्माण शुरू गर्न ढिलाइ भएको बताए । उनका अनुसार समयतालिकाअनुसार यो परियोजना यही असोजदेखि निर्माणमा जाने थियो । अहिले पीक्यूमा छनोट भएका ३२ भन्दा बढी कम्पनीसँग आर्थिक प्रस्ताव पेश गर्न माग गरिएको उनको भनाइ छ । ‘एक साताअघि आर्थिक प्रस्ताव माग गरिएको छ,’ पोखरेलले भने, ‘४५ दिने म्याद पाउने ती कम्पनीको आर्थिक प्रस्ताव मूल्यांकन भएसँगै कम कबोल गर्ने कम्पनीहरूलाई ठेक्का प्रदान गरिनेछ ।’

कुल ९६ किलोमीटर लामो नागढुंगा–मलेखु–मुग्लिङ सडकको स्तरोन्नतिका लागि विश्व बैंकले ७० प्रतिशत र नेपाल सरकारले ३० प्रतिशत लगानी गर्नेछन् । पीक्यू स्वीकृतिका लागि सरकारले विश्व बैंकलाई गत चैतमा प्रस्ताव पठाएको थियो । बैंकबाट स्वीकृत भएर आउँदा नै ३ महीना लागेको थियो । नागढुुंगा–मलेखु–मुग्लिनको ९६ किलोमीटर (किमी) सडक स्तरोन्नति गर्न कुल रू. १६ अर्बको प्याकेज भए पनि गतवर्ष रू. ९ अर्बको ठेक्का निकालिएको थियो ।

विभागले तीनओटा प्याकेजमा ठेक्का व्यवस्थापन गर्ने तयारी गरेको थियो । गतवर्ष मङ्सिरमा पहिलो र दोस्रो चरणमा नागढुंगा–नौबीसे र नौबीसे–मलेखु प्याकेज निर्माणको टेन्डर निकालेको थियो ।

यी दुईओटा प्याकेजको लम्बाइ ५६ किमी रहेको छ । यी दुईओटा प्याकेजमा नेपाली कम्पनी पनि सहभागी छन् यद्यपि यी दुवै प्याकेजमा चिनियाँ कम्पनी नै बढी छन् । उक्त देशका झन्डै ८० प्रतिशत कम्पनीले यी परियोजनामा टेन्डर हालेका छन् ।

तेस्रो प्याकेजअन्तर्गतको ४० किमीको मलेखु–मुग्लिङ खण्डका लागि पनि समयमै सूचना जारी गरिएको थियो । उक्त प्याकेजको पीक्यू छनोट अन्तिम चरणमा रहेको पोखरेलको भनाइ छ । यो पनि विश्व बैंकलाई जानकारी दिने र त्यहाँबाट स्वीकृत भएपछि आर्थिक प्रस्ताव मागिनेछ । यो प्याकेजको काम भने चैतदेखि शुरू हुने सम्भावना रहेको उनले बताए । यो प्याकेजको लागत भने रू. ७ अर्ब छ ।

विकास साझेदार विश्व बैंकको सहायतामा २९ वर्षअघि निर्माण भएको नागढुंगा–मलेखु–मुग्लिङ सडक खण्ड स्तरोन्नति गर्न सोही बैंकले २०७७ जेठमा ऋण सहायता उपलब्ध गराएको थियो । त्यसपछि यो सडक निर्माणका लागि आवश्यक तयारी शुरू गरिएको थियो । उक्त सडक स्तरोन्नतिका साथै २२ ओटा नयाँ पुल निर्माण पनि हुनेछन् । २०५० सालमा बनेका आग्रा, बेलपुर र मलेखु पुलबाहेक नयाँ पुल थपिनेछ । अहिलेको भन्दा धेरै स्तरीय र गुणस्तरको बन्ने यो सडक २ देखि ६ लेनको हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)