ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घारखोला जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

२०७८ असोज, १५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन घारखोला जलविद्युत् आयोजनाको सुरुङमार्गमा बुधवार ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ बुधवार जोडिएको हो ।

बाँध तर्फबाट १ हजार ६०५ मिटर र आउटलेटबाट १ हजार ४०० मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इञ्जिनियर जोसेव वज्राचार्यले बताए । ‘दुईओटा अडिटबाट खनिएको यो सम्भवतः नेपालको लामो सुरुङ हो,’ उनले भने, ‘शुक्रवारदेखि नै सुरुङ कंक्रिट गर्न शुरू गर्छौं ।’

अर्थुङेस्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तर्गत घारस्थित बेसक्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको थियो । २०७४ चैतदेखि सुरुङ निर्माण शुरू भएको थियो । आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चरका आयोजना व्यवस्थापक ध्रुव मिश्रले बताए ।

‘बाँध नजिकै ४५ मिटर लम्बाइको दुईओटा बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) निर्माण भएको छ,’ उनले भने, ‘डिसेन्डरदेखि सुरुङसम्म २४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि विद्युत्गृहसम्म ४८५ मिटर पेन स्टक पाइप जडान शुरू भएको छ । आउटलेटदेखि विद्युत्गृहको दूरी १ हजार २०० मिटर छ ।

घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सीई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पारेको छ । २०७८ माघदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माणमा कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाइ भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामी मगरले बताए । २०७९ असार महीनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका रहेको  उनले जानकारी दिए ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म ८ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्स्ट्रक्सनले सामान आपूर्ति गरिसकेको छ ।

आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकूल भौगोलिक अवस्था हुँदाहुँदै पनि आयोजना निर्माण तीव्ररूपमा अघि बढेको बताए । २ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआईसी एशिया, कुमारी र प्राइम बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)