ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् अनियमितता : सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मासिक रू. २ अर्बको क्षति

२०७८ असोज, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका सानाठूला ५ सय उद्योगमा विद्युत्् आपूर्ति अनियमित हुँदा मासिक २ अर्बभन्दा बढी रुपैयाँ बराबरको नोक्सानी उद्योगहरूले बेहोर्नु परेको छ ।

विद्युत् ट्रिपिङ हुँदा दैनिक ७ करोडको क्षति हुने गरेको छ । पुनः प्रयोग गर्न नमिल्ने गरी कच्चा पदार्थ खेर जाने, मेशिनरीमा क्षति पुग्ने र रिप्रोसेसिङ गर्दा लाग्ने खर्च गरी दैनिक रू. ७ करोड क्षति भइरहेको उद्योगीले बताएका छन् । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको महाप्रबन्धकमा दोस्रोपटक नियुक्ति लिएर आए पनि औद्योगिक क्षेत्रमा भइरहेको विद्युत्् अनियमिततामा सुधार आउन नसकेको उद्योगीहरूले बताएका छन् ।

२४ घण्टामा औद्योगिक कोरिडोरमा दैनिक ४ पटकसम्म ट्रिपिङ हुने गरेको छ । यसले गर्दा उत्पादनको प्रोसेसिङमा रहेको कच्चा पदार्थ खेर जाने, पार्टपुर्जा बिग्रने र खेर नगएको तर मेशिनबाट निकालेर पुनः प्रयोग गर्नुपर्ने कच्चा पदार्थको कारण उद्योगहरूले दैनिक रू. ७ करोड क्षति बेहोर्नु परिरहेको हो । विद्युत्् अनियमितताले लक्ष्यअनुरूप उद्योगले वस्तुको उत्पादनसमेत गर्न सकेका छैनन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सरकारले विद्युत् उत्पादनमा बढी ध्यान दिएको तर प्रशारणलाईनलाई अपग्रेड गर्ने र विद्युत्् भार थाम्न सक्ने गरी कार्य नगरेको कारण समस्या भएको बताए ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका सबै किसिमका उद्योगले अहिले पनि विद्युत््को मार खेपिरहेको उनले बताए । दैनिक ३ देखि ४ पटकसम्म विद्युत् ट्रिपिङ हुँदा उद्योगहरूले २० प्रतिशतसम्म कच्चा पदार्थमा र उत्पादनमा क्षति बेहोर्दै आएका छन् । प्लास्टिकका मझौला उद्योगले दैनिक ७५ देखि १ लाखसम्मको कच्चापदार्थ गुमाइरहेका छन् । सोझै कच्चा पदार्थ नोक्सानी नहुने उद्योगको पुनः कच्चा पदार्थलाई उत्पादन प्रक्रियामा लाँदा त्यसको प्रोसेसिङ खर्च दोब्बर भइरहेको छ । जसको क्षतिपूर्ति कतैबाट पनि छैन ।

उद्योग संगठनका पूर्वउपाध्यक्ष तथा ऊर्जा संयोजक राकेश सुरानाले सुनसरी मोरङ औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति अनियमित हुँदा प्लास्टिक, आइरन र सिमेन्ट उद्योले बढी क्षति बेहोर्नुपरेको बताए । विद्युत् ट्रिपिङको समस्यासँगै कम भोल्टेजको कारण विद्युत् महसुलमा १७ देखि २२ प्रतिशतसम्म बढी महसुल तिर्नु परिरहेको उनले सुनाए ।

विद्युत्को गुणस्तर कम भएकाले उद्योगहरूले डेढ करोड रुपैयाँ बराबरको क्षति बेहोरिरहेको, ४ करोड बराबरको कच्चा पदार्थ नष्ट भइरहेको, दैनिक १ करोडको मिल मेशिनरीमा क्षति पुग्ने गरेको छ । माग र आपूर्तिको सन्तुलन कायम गर्न उद्योगहरूलाई निकै कठिन भएको गुनासो उनले गरे ।

बन्धन सिमेन्टका सञ्चालक मनीष मारूले विद्युत् आपूर्तिमा भइरहेको समस्याको कारण प्रदेश १ मा रहेका १३ ओटा सिमेन्ट उद्योगले दैनिक १४ हजार टन सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ गुमाइरहेको बताए । उनका अनुसार दैनिक १ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति सिमेन्ट उद्योगलाई छ । यसमा मेशिनरीको क्षति र लक्ष्यअनुरूपको उत्पादन गर्न नसक्दा बेहोर्नुपर्ने क्षतिको मूल्य जोडिएको छैन ।

मारूका अनुसार गुणस्तरीय विद्युत् नहुँदा उत्पादनको लागत वृद्धि भएर मूल्यवृद्धि हुन सक्छ । उनले भने, ‘विद्युत्् आपूर्तिमा भएको अनियमितताको कारण उद्योगहरूले बेहोर्नु परेको क्षतिको पूर्ति सरकारले गर्नुपर्छ ।’

पशुपति आइरनका सञ्चालक तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले आधा घण्टाको लोडशेडिङले फलाम पगाल्ने प्लान्टमा ४ लाखको क्षति हुने बताए । विनाजानकारी विद्युत् जाँदाको अवस्थामा सबैभन्दा बढी स्टील उद्योगहरू समस्यामा पर्ने उनको भनाइ छ । एक मिनेटको ट्रिपमा पनि उद्योगमा कम्तीमा २० हजारसम्मको क्षति पुग्ने उनले जानकारी दिए । आफ्नो उद्योगमा २० मेगावाट विद्युत् खपत हुने तर यसको विकल्पमा डिजेल प्लान्ट राख्न सम्भव नभएकाले प्राधिकरणको अक्षमताको कारण पीडित बन्नु परिरहेको बताए । सरकारले भारतमा विद्युत् विक्री गर्नुभन्दा पहिला नेपालमै यसको खपत बढाउनुपर्नेमा जोड दिनुपर्ने र प्रसारण लाइनहरूको सुधार गरी गुणस्तरीय विद्युत् वितरण गरिनुपर्ने माग गरे ।

नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रीडका प्रमुख राजेश रेग्मीले पुरानो प्रशारण लाइन र ट्रान्समिशन लाइनले भार वहन गर्न सक्ने क्षमताभन्दा बढी विद्युत्को भार थाम्नु परिरहेको कारण ट्रिपिङको समस्या रहेको बताए । आपूmले केन्द्रमा प्रसारण र ट्रान्समिसन लाइन फेर्नका लागि सुझाव दिएको उनले बताए ।

अहिले दुहबी ग्रीडबाट प्रदेश १ मा २३३ मेगावाट विद्युत् सप्लाई भइरहेको छ । यो डिमान्डअनुसार तलमाथि हुन्छ । दुहबी ग्रीडबाट १५९ मेगावाट अनारमनीबाट ५२ मेगावाट र दमकबाट ३२ मेगावाट विद्युत् वितरण भइरहेको छ । काबेली कोरिडोरअन्तर्गत १६५ मेगावाट विद्युत्् पनि ग्रीडमा थपिएको छ । अपर तामाकोशीबाट आउने ६५ मेगावाट विद्युत् पनि ग्रीडमा रूपनीबाट आउँछ । दुहबी ग्रीडले नेपालमै विद्युत् मागभन्दा बढी भएकाले भारतको कटैयाबाट अहिले विद्युत् लिनु परेको छैन । यसअघि दैनिक भारतबाट २०० मेगावाट विद्युत् दुहबी ग्रीडले लिँदै आएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)