ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञापछिको पोखरा : चहलपहल बढ्यो, बढेन व्यापार व्यवसाय

२०७८ असोज, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको निषेधाज्ञा खुलेसँगै पोखराका बजारमा चहलपहल बढेको छ । तर, व्यापारिक कारोबार भने नबढेको गुनासो व्यवसायीले गरेका छन् ।

सर्वसाधारणको बढ्दो आगमनले केही उत्साहित बनाए पनि व्यवसायमा खासै सुधार नभएको पोखराको पृथ्वीचोकस्थिते ‘अर्चना एन्ड फ्रेन्ड्ली कलेक्सन’का सञ्चालक किरण बञ्जाराले बताए । ‘बजारमा आवतजावत गर्नेहरू बढेका छन्, तर सामान खरीद गर्न नै आउनेहरू निकै थोरै छन्,’ उनले भने, ‘कपडा पसल मात्र होइन, भाँडाकुडा, मोबाइल, होटल÷रेष्टुराँ लगायत कुनै पनि पसल, व्यवसायमा ग्राहक कम देखिएका छन् ।’

२० वर्षदेखि पृथ्वीचोकमा फेन्सी व्यवसाय गर्दै आएका बञ्जाराले कोरोना संक्रमणका कारण सर्वसाधारको आम्दानीको स्रोत गुमेकाले व्यवसाय चलायमान हुन नसकेको बताए । ‘मानिसको क्रयशक्तिमा ह्रास आएकाले त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिएको हो,’ उनले भने, ‘बजार चलायमान हुन सर्वसाधारणको आम्दानीको स्रोत पनि दिगो र नियमित हुनुपर्छ ।’

पोखरा पृथ्वीचोककै अर्का व्यवसायी विजय पाठकको अनुभव पनि बञ्जाराको जस्तै छ । ५ महीनापछि निषेधाज्ञा खुलेर बजारमा मानिसको चहलपहल बढे पनि व्यवसाय मन्दीमै रहेको उनले बताए । ‘कोरोना महामारीका हजारौंले रोजगारी गुमाए, आयस्रोत बन्द भयो,’ उनले भने, ‘त्यो अवस्था अझै सहज बनिनसकेकाले बजारमा किनमेल गर्ने ग्राहक घटेका हुन् ।’

अहिले पसलमा फाटफुट्ट मात्रै ग्राहक आएको उनले बताए । कोरोनाका कारण मानिसको किनमेल गर्ने शैलीमा समेत परिवर्तन आएको बुझाइ उनको छ । पछिल्लो समय अनलाइमार्फत किनमेल गर्नेहरू बढेकाले पनि पसल नै चहारेर किन्नेहरू घटेको हुन सक्ने उनको भनाइ छ ।

यस्तै बजारमा चहलपहल बढ्दा समेत फलफूल किन्ने ग्राहक घटेको ‘पोखरेल फलफूल पसल’का सञ्चालक रोमप्रसाद पोखरेलले बताए । फलफूल व्यवसाय कोरोना संक्रमणअघिको अवस्थामा पुगिनसकेको उनको भनाइ छ । ‘बजारमा मानिसको चहलपहल निकै बढेको छ,’ उनले भने, ‘तर तुलनात्मक रूपमा कारोबार भने निकै कम छ ।’
एक दशकदेखि फलफूल व्यवसाय गर्दै आएका पोखरेलले कोरोना महामारी हटेर अवस्था सामान्य नबनेसम्म व्यवसाय पुरानै लयमा फर्किन नसक्ने बताए । ‘मौसम अनुसारका फलफूल मण्डीबाट ल्याएर राख्छु, तर फलफूल किन्ने ग्राहक नआउँदा कयौंपटक फाल्नुपरेको छ,’ उनले भने ।

पृथ्वीचोकमै खाद्यान्नको व्यापार गर्ने केदार श्रेष्ठ पनि व्यापारमा उत्साह नदेखिएको बताउँछन् । ‘मानिसको चहलपहल निकै बढेको छ, तर किनमेल गरेको देखिँदैन,’ उनले भने । यद्यपि पछिल्लो समय कोभिड संक्रमण घट्दै गएको, खोप लगाउनेहरू बढेको र ठूला चाडपर्व समेत नजिकिएकाले व्यापार व्यवसाय बढ्ने आशा गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)