ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाले रोकिएको रू. ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

२०७८ असोज, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) र वर्षायामका कारण रोकिएको रू. ५ अर्बभन्दा बढीको परियोजना निर्माणको तयारीमा आईएमई ग्रूप र शर्मा एन्ड कम्पनी छन् ।

बुटबलको बमघाट (चिडिया) खोलादेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमीटरको केबलकार र वसन्तपुरमा ५ तारेस्तरको होटेल बनाउन यी दुई कम्पनीले संयुक्त लगानी गर्दै छन् । ५०÷५० प्रतिशत लगानी साझेदारीमा निर्माण हुने उक्त परियोजनाको पहिलो चरणमा केबलकार निर्माण गरिनेछ । शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रमेश शर्माले तिहारलगत्तै केबलकार निर्माण शुरू गरिने जानकारी दिए ।

केबलकारका लागि आवश्यक डिजाइनहरू पनि केही महीनाअघि आइसकेकाले निर्माणमा जान सकिने उनको भनाइ छ । २०७७ फागुन १ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो । चन्द्रागिरि केबलकारकै नमूनामा बुटवल केबलकार र वसन्तपुरमा होटेलमा लगानी गर्ने रणनीति लिइएको छ ।

वसन्तपुर डाँडामा होटेल बनाउन १२५ रोपनी जग्गा किनिएको छ भने नगरपालिकामा जग्गा पासका लागि दर्ता गरिएको छ । केबलकारसँगै वसन्तपुरमा बन्ने होटेल तथा रिसोर्टका लागि यो जग्गा किनिएको हो । यसैगरी बुटवलतर्फ १७ हेक्टर जमीन ४० वर्षका लागि लीजमा लिइएको छ । जग्गा खरीद तथा अन्यमा गरी हालसम्म रू. ३५ करोड खर्च भइसकेको उनको भनाइ छ ।

पाल्पाको वसन्तपुरमा बन्ने होटेलमा मात्रै यी कम्पनीले रू. साढे ३ अर्ब लगानी गर्ने तयारी गरेका छन् । केबलकारमा भने रू. ७० करोड लगानी हुनेछ । समग्र काम सम्पन्न हुँदासम्म रू. ५ अर्बभन्दा बढी लगानी हुने शर्माले बताए । उनका अनुसार केबलकार बढीमा २ वर्षभित्र निर्माण गरिनेछ । केबलकार बनाइसकेपछि त्यसको १ वर्षभित्र होटेल तयार हुनेछ ।

बुटवल–वसन्तपुर केबलकारमा २२ भन्दा बढी डिब्बा हुनेछन् । केबलकारको पूर्वाधार निर्माणको काम शर्मा एन्ड कम्पनीले गर्नेछ । पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उक्त परियोजनालाई धार्मिक पर्यटनसँग जोडिनेछ । सिद्धबाबा मन्दिर दर्शनसमेत सहज हुने लगानीकर्ता बताउँछन् । यो प्रोजेक्ट त्यहाँ बनाउनुको मुख्य उद्देश्य नै पर्यटन विकास रहेको शर्माको भनाइ छ । पोखरा र भैरहवा विमानस्थलमा आउने पर्यटकका साथै आन्तरिक पर्यटकलाई लक्षित गरेर प्रोजेक्ट अघि बढाइएको हो । वसन्तपुरलाई ‘हिल स्टेशन’का रूपमा विकास गर्नेगरी  निजीक्षेत्रका दुई ठूला कम्पनीले लगानी गर्न लागेका हुन् । पछिल्लो समय जनघनत्व पनि बढ्दै आएको बुटवल र भैरहवाको उच्च तापक्रमबाट राहत पाउन त्यहाँबाट चिसो गन्तव्यको खोजी गर्नेहरूलाई वसन्तपुर डाँडा निकै उपयुक्त हुने लगानीकर्ता बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)