ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डोको बेचेरै मासिक २० हजार बचत

२०७८ कार्तिक, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ््लो सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ । बिहान उठेदेखि राती नसुतुन्जेल चोयासँग खेल्दै उनको समय बित्छ ।

सार्कीले २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिन बिताइसकेका छन्  ।

बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उनले ६ जनाको परिवारको गुजारा चलाउनुपर्ने बाध्यता छ ।

सार्कीले डोको बुनेरै मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यही पैसाले आफ्ना परिवारको पालनपोषण, शिक्षादीक्षा र औषधोपचार गर्दै आएको उनी सुनाउँछन् ।

उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुनाइमा भने उनको जाँगर जवानी अवस्थाजस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेल डोको बुनेरै दिन बितेको उनलाई पत्तै हुँदैन ।

‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ । तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु’ असिनपसिन अनुहारमा मुस्कुराउँदै उनले भने ।

सार्कीले ३५ वर्षदेखि सुरु गरेको यो पेसालाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन्  । उनले घरमै बसेर डोको बुनेरै दिनहुँ आम्दानी गरिरहेका छन् ।

विपन्न सार्कीको डोको नबुनेसम्म साँझ–बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेरै उनको परिवारको जीविका चलेको छ ।

पहिले–पहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घरघरमा बिक्रीका लागि पुग्ने गर्थे  । अहिले घरमै ग्राहक दिनहुँ आउने गरेको उनले बताए ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले डोको उत्पादनलाई बढी प्राथमिकता दिने गरेका छन्  । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको उनको भनाइ छ ।

दिनमा ८ देखि १० वटासम्म डोको बुन्ने गरेका सार्कीले बाँस निगालोको मूल्य र आफ्नो दैनिक ज्याला कटाएर मासिक २० हजारजति बचत हुने गरेको सुनाए ।

एउटा डोको २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । बचत पैसा पीपलडाँडास्थित सहकारीमा जम्मा गर्दै आएका छन् ।

‘मिहिनेत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन । काम गरेअनुसार परिश्रम पाएको छु’, सार्की खुसी सुनिए ।

डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको सार्कीले बताए । ‘पहिले नै अर्डर हुन्छ । ग्राहकको माग बढ्दो छ,’ उनी भन्छन्  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)