ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाहुनाले भरिँदै चित्रेगाउँका होमस्टे

२०७८ कार्तिक, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका पर्वतका होमस्टे दसैं, तिहारको छुट्टीमा घुमघाममा आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छाडेका होमस्टे खुला भएसँगै भरिन थालेका हुन् ।

जिल्लाका मुख्य पर्यटकीय गन्तव्य चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए ।

पर्यटक घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमै चित्रे गाउँ पर्छ । आँखै अगाडि हिमालका लामबद्ध दृश्य । सबैजसोका घर ढुंगाले छाएका छन् । यहाँका घरका आँगनसमेत ढुंगाका छपनीले छाइएका छन् । सोही कारण पनि पर्यटक लोभिने गरेका छन् । कोभिड–१९ का कारण ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको छ ।  

यहाँका ७ घरमा व्यावसायिक रूपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो हो । होमस्टेका ढोका खुल्न थालेपछि रमाइलो महसुस भएको होमस्टे सञ्चालिका सुशीलादेवी गुरुङले बताइन् । स्वास्थ्य मापदण्ड पालना गरी होमस्टे खुला गरिएको उनको भनाइ छ ।

कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । कोभिड संक्रमणपछि सुनसान गाउँमा फेरि चहलपहल सुरु भएको स्थानीय मनमाया गुरुङले सुनाइन् । गाउँमा पाहुना आउँदा दैनिकी क्रमशः बेफुर्सदिलो बन्न थालेको उनको अनुभव छ ।

दसैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाले जानकारी दिइन् । प्रवासी नेपालीको अन्तर्राष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिवेशन समेत चित्रेमा आयोजना गरेकाले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताइन् ।

अधिवेशनमा दुई दिनमा ३ सय जना पाहुनाको स्वागत गर्ने तयारी छ । यहाँका स्थानीयले होमस्टेलाई आम्दानीको  थलोका साथै सामाजिक अभियानका रूपमा पनि उपयोग गर्दै आएका छन् ।

जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ ।

समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुुसुदन अधिकारीले जानकारी दिए ।  

अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीयले आँगनमै फूलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चैबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो मोहित गर्ने गरेको होमस्टे सञ्चालक बताउँछन् ।

जाडोको बेला ‘क्याम्प फायर’सहित पञ्चैबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङले सुनाए ।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने रुटसमेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य नियाल्ने आन्तरिक पर्यटकको संख्या धेरै छ ।

होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ । खानाको रूपमा कोदोको पीठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनीले पनि पाहुना लोभिने गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)