पर्वत । पर्वतको जलजला गाउँपालिकाले व्यावसायिक दुग्ध पशुपालन प्रवर्द्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडा÷बाच्छा हुर्काउने किसानलाई ‘सुत्केरी पशु पोषण भत्ता’ दिँदै आएको छ । गएका तीन आवदेखि निरन्तरता दिइएको यो कार्यक्रमले स्थानीय जातका पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने क्रम बढेको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले बताए । कार्यक्रम शुरू भएको भएको पहिलो वर्ष ५८ जना र गतवर्ष ७२ जना कृषकले ब्याएका प्रतिपशुबापत २५ सय रुपैयाँका दरले रकम बुझेका छन् ।
नश्ल सुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउन तथा पाडा÷बाच्छा हुर्काउन गरिएको यो कार्यक्रमले कृषकलाई फाइदा पुगेको श्रेष्ठको भनाइ छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबारे कृषकको चासो र जानकारी बढेको उनले बताए । पशु पोषण भत्ता वितरण कार्यक्रममा यस वर्ष कम्तीमा पनि ७२ जना कृषकलाई समेट्ने लक्ष्य छ । भैंसीलाई राँगा लगाएर गर्भाधान गराउँदा ४ हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेकाले पनि कृत्रिम गर्भाधान गराउने कृषक बढेका छन् । कृत्रिम गर्भाधानका लागि ३ सयदेखि ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ ।
कृत्रिम गर्भाधानको नश्ल सुधारबाट दूध उत्पादन समेत बढ्ने भएकाले आफूहरू यसमा आकर्षित भएको वडा नं ५ लेखफाँटका कृषक मोहदत्त सुवेदीले बताए । उक्त कार्यक्रम कार्यान्वयनका लागि १४ लाख ८० हजार रुपैयाँको साझेदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । गाउँपालिकाका पशुपालक कृषक, कृषक समूह, फर्म, सहकारी आदि लक्षित गरेर सहकार्यमा गाई÷भैंसी गोठ सुधारमा प्रतिगाई÷भैंसी प्रतिकृषक बढीमा २५ हजार, कम्तीमा तीनटा माऊ गाई वा भैंसी तथा १५ ओटा माऊ बाख्रा पाल्ने कृषकलाई सहकार्यमा चाफकटरका लागि २ लाख रुपैयाँ दिइने जानकारी उनले दिए ।
यसैगरी बंगुर, बाख्रा र कुखुरा पालनका लागि २ लाख, सहकार्यमा कृषि यान्त्रिक उपकरण वितरणका लागि २ लाख ३० हजार र बोयर जातका बोका तथा पाठी वितरणका लागि ३ लाख ५० हजार लगानी गर्न लागिएको छ ।