ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमा आशा : होटेलले माग्न थाले कर्मचारी

२०७८ कार्तिक, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र पर्यटन क्षेत्रमा झीनो सुधार देखिन थालेकाले काठमाडौं उपत्यकासँगै मोफसलका होटेल तथा रिसोर्टहरूले कर्मचारी माग गर्न शुरू गरेका छन् । खासगरी काठमाडौं उपत्यका बाहिरका होटेलहरूले कर्मचारी माग गर्न थालेका हुन् ।

बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा न्यूनतम कर्मचारीहरू राखेर र चक्रीय प्रणालीमा श्रमिक राखी काम गर्दै आएको होटेल क्षेत्रले अहिले कर्मचारीहरू माग्न थालेका हुन् । काठमाडौंको हायात रिजेन्सी होटेल, ¥याडिसन होटेल कालिमाटीजस्ता होटेलले कर्मचारी माग गरेका छन् ।

हायात रिजेन्सी काठमाडौंले इभेन्ट सर्भिस म्यानेजरदेखि इन्डियन सेफसम्मका कर्मचारी माग गरेको छ । सुनसान रहेको ठमेलका होटेलले पनि कर्मचारी माग गरेका छन् ।

काठमाडौंको ठमेलमा अवस्थित तीनतारे मस्र्याङ्दी होटेलले पनि कर्मचारीको विज्ञापन खुलाएको छ । काठमाडौंकै होटेल क्राउन इम्पेरियल, याक एन्ड यति होटेल पनि कर्मचारी माग गरेका छन् ।

यसरी कर्मचारीहरू माग गर्नेमा मोफसलका होटेलहरू बढी छन् । सिद्धार्थ हस्पिटालिटी ग्रूपले कर्मचारी माग गरेको छ । होटेल सिद्धार्थले नेपालगञ्जका लागि कर्मचारी माग गरेको हो ।

लामो समयसम्म हिँडडुल गर्न नपाएका मानिस घुमघामका लागि निक्लन थालेकाले अहिले आन्तरिक पर्यटन लयमा छ । यसले गर्दा पोखरा, चितवन, तराई भेगका होटेलहरूले कर्मचारी माग गरिरहेका छन् । बुटबलको ड्रिम इन्टरनेशनल होटेलले धेरै संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । होटेलले ६५ जना कर्मचारी माग गरेकोे छ । उपत्यका नजिकको गन्तव्य धुलिखेलको आगन्तुक रिसोर्टले पनि कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ ।

नयाँ होटेलहरूले कर्मचारी माग गरिरहेको होटेल व्यवसायीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको घट्दो अवस्था छ र अनअराइभल भिसाका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेको छ । त्यसैले गर्दा मोफसलमा कर्मचारी माग गरिएको होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

उनले बन्दाबन्दी र निषेधाज्ञापछि होटेलहरूमा कर्मचारी तथा श्रमिक कति फर्किए भन्ने विषयमा तिहारपछि अध्ययन गरिने जानकारी दिए । बन्दाबन्दी र नाकाबन्दीमा ५ देखि १० प्रतिशत मात्रै कर्मचारी राखेर होटेल खुला गरेका होटेलहरूले कर्मचारीहरू पुनः राख्न थालेका छन् । पर्यटकको वृद्धि देखिएको हुँदा व्यवसायमा हौसला बढेको उनी बताउँछन् ।

अहिले पुरानै नेटवर्क, एजेन्सीहरूमार्फत नेपाल घुम्ने पर्यटकका विषयमा जानकारी लिइएको भन्दै उनले अहिले विश्व पर्यटनमै प्रतिस्पर्धा देखिने बताए । ‘अन्य देशहरूलाई पनि पर्यटकहरू चाहिएको छ’, उनले भने, ‘प्रतिस्पर्धाका बीच पनि हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं । तयारी पनि सोहीअनुसार गरिएको छ ।’ नेपालमा आउने पर्यटकलाई कोभिडबाट कसरी सुरक्षा गर्ने नै मुख्य पक्ष रहेको भन्दै उनले अबको मार्केटिङ रणनीति फरक ल्याउने बताए ।

एकैपटक पर्यटक आउँछन् भन्ने अवस्था नभए पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरेर तिहारपछि प्याकेज तथा अन्य कार्यक्रमहरूको तयारी गर्ने व्यवसायी बताउँछन् । २०२२ को शुरुआतीदेखि नै अहिलको अवस्थामा क्रमिक सुधार हुने पर्यटन व्यवसायीहरूको आशा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)