ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङ क्षेत्रमा रिकभरीको संकेत

नाफामा देखियो उत्साहजनक वृद्धि

२०७८ कार्तिक, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा author avatar सौरभ देवकोटा

काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो ।

तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ ।

यसपालि कोरबैंकिङ व्यवसायबाट नै आम्दानी हुन थालेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘गत आवसम्म बैंकहरूको नियमित आम्दानी त्यति थिएन । शेयर कारोबारबाट आम्दानी हुने गरेको थियो । तर, अहिले भने नियमित आम्दानीबाट नै नाफा भएको छ,’ उनले भने ।

अहिले भइरहेको तरलता अभावको प्रभाव भने दोस्रो त्रैमासिकमा देखिन सक्ने उनको भनाइ छ ।

यसपालि नाफा कमाउने मामलामा एनआईसी एशिया बैंक अगाडि देखिएको छ । समीक्षा अवधिमा एनआईसी एशियाले रू. १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले रू. १ अर्ब ११ करोड २२ लाख ३४ हजार र तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले रू. १ अर्ब ११ करोड २२ लाख २४ हजार खुद नाफा कमाएका छन् ।

यी बैंकहरूसहित ५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । तिनमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् ।

ती बैंकहरूले क्रमशः १ अर्ब ५ करोड र १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् । अन्य बैंकहरूको नाफा १ अर्बभन्दा तल रहेको सम्बद्ध बैंकहरूको वित्तीय विवरणमा देखिन्छ ।

४ बैंकको नाफा भने घटेको छ । तिनमा प्राइम कमर्शियल बैंकको ३ दशमलव ९ प्रतिशत, प्रभु बैंकको २५ दशमलव १४ प्रतिशत, कुमारी बैंकको १० दशमलव १९ प्रतिशत र नेपाल बंगलादेश बैंकको २७ दशमलव ९३ प्रतिशतले नाफा घटेको छ ।

समीक्षा अवधिमा सिभिल बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । उक्त बैंकको नाफा २०१ प्रतिशतले बढेको देखिन्छ । गत आवको समीक्षा अवधिमा ९ करोड ६६ लाख खुद नाफा कमाएको यस बैंकले अहिले रू. २९ करोड १८ लाख खुद नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)