ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

२०७८ कार्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । यसअघि भारतले नेपाललाई खुला बजारबाट बिजुली किन्नका लागि मात्र अनुमति दिएको थियो । अहिले आएर भारतले आप्mनो खुला बजारमा विद्युत् बेच्न पनि नेपाललाई अनुमति दिएको हो ।

भारतको ऊर्जा (विद्युत्) मन्त्रालयले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई यस्तो अनुमति दिएको हो । यससँगै अब प्राधिकरणले भारतीय बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बेच्न सक्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत सरकारबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा विद्युत् बेच्न स्वीकृति पाएको बताए ।

‘अहिलेसम्म भारतमा जेजति विद्युत् निर्यात भएको थियो, त्यो औपचारिक थिएन । बढी भएको विद्युत् प्रदान गरेको मात्र हो । तर, अब औपचारिक रूपमा नै विद्युत् बेच्न पाउने गरी अनुमति पाएको छौं,’ उनले भने, ‘यो नेपाल भारत क्रशबर्डर विद्युत् व्यापारको सन्दर्भमा ऐतिहासिक छ ।’

प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा उक्त मन्त्रालयले गत वैशाखमा प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको थियो । अहिले आएर आफ्नो खुला बजारमा विद्युत् विक्री गर्न अनुमति दिएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो ।

प्राधिकरणले अब भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् विक्री गर्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्यही निकायमार्पmत नै विद्युत् आयातनिर्यात गर्नुपर्नेछ ।

भारतबाट अनुमति पाएपछि प्राधिकरणले मंगलवार राति १२ बजेबाट नै भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ ।

प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको हो । हाललाई सोही आयोजनाको विद्युत्लाई स्रोत मानेर भारतले विद्युत् बेच्न अनुमति दिएको हो । ‘अहिले हामीले यही २ आयोजनाबाट विद्युत् विक्री गर्ने छौं । आगामी दिनमा अन्य आयोजनाहरूको पनि विद्युत् विक्री गर्ने गरी काम गर्नेछौं,’ घिसिङले भने ।

नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पनि विद्युत् बेच्ने गरी भारतमा प्रस्ताव गरेको छ । त्यसको अनुमति पनि छिट्टै आउने प्राधिकरणको विश्वास रहेको छ ।

भारतले केही समयअघि क्रशबर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका जारी गर्दै चिनियाँ लगानी भएको आयोजनाको विद्युत् नकिन्ने बताएको छ । सोहीअनुसार प्राधिकरणले विद्युत मात्र विक्री गर्छु भन्न पाउँदैन । कुन आयोजनाको विद्युत् विक्री गर्ने भनेर पनि खुलाउनुपर्नेे छ । त्यसपछि भारतले स्वीकृति दिएपछि मात्रा प्राधिकरणले सम्बद्ध आयोजनालाई स्रोत मानेर विद्युत् भारतमा बेच्न पाउनेछ ।

अब प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्या≈न १२ बजेसम्म खुला बजारमा बेच्ने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बिडिङका क्रममा तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ । त्यसरी तय हुने दरका आधारमा रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् विक्री गरिनेछ ।

यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यो २ मुलुकबीचको ऊर्जा व्यापारका लागि कोसेढुंगा सावित हुने बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयास यस्तो अनुमति पाएका छौं । अब नेपालमा खपत गरेर बाँकी हुने विद्युत् भारतीय बजारमा बेच्न सकिनेछ,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)