ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रोभिजनिङको असर : ठूला जीवन बीमा कम्पनीहरूको नाफामा उच्च गिरावट

२०७८ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालका नाम चलेका ठूला बीमा जीवन कम्पनीहरूको नाफामा उच्च कमी देखिएको छ । पहिलो त्रैमासमा नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, मेट लाइफ, गुराँस लाइफ गरेर पाँच कम्पनीको नाफा घटेको हो ।

नेपाली बजारमा यी कम्पनी बढी नाफा कमाउने भनेर चिनिन्छन् । तर, यसपटक यिनीहरूको नाफा नराम्ररी घटेको छ ।

नेपाल लाइफ इस्योरेन्स नाफा कमाउने कम्पनीहरूमा पहिलो नम्बरमा पर्दै आएको थियो । तर, यसपालि उक्त कम्पनीको नाफा घटेको छ । त्यसमाथि नाफा कमाउने कम्पनीहरूको सूचीमा उक्त कम्पनी सबैभन्दा पछाडि पर्न गएको छ । समीक्षा अवधिमा नेपाल लाइफको नाफा ९६ दशमलव ९३ प्रतिशतल घटेको छ ।

एलआईसी नेपालको नाफा ४४ दशमलव ९० प्रतिशत र नेशनल लाइफको नाफा २६ दशमलव ७२ प्रतिशतले घटेको छ । मेट लाइफको नाफा १० दशमलव ५८ प्रतिशत र गुराँस लाइफको नाफा ४ दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालमा हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार अन्य कम्पनीको नाफा भने बढेको देखिन्छ ।

कोरोनाका कारण दाबी बढ्ने सम्भावना भएपछि जीवन बीमा कम्पनीहरूले ‘क्लेम प्रोभिजनिङ’ रकम बढाएका छन् । साथै, प्mयचुर बोनसका लागि घोषित बोनसको २० प्रतिशत रकम प्रोभिजनिङ पनि गरेका छन् । फलस्वरूप ठूला कम्पनीहरूको नाफा घट्न गएको जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ बताउँछन् ।

‘हुन त अन्य कम्पनीहरूले पनि आवश्यक मात्रामा प्रोभिजनिङ गरेका छन् । तर, उनीहरूमा त्यसको असर देखिएको छैन,’ उनले भने, ‘ठूला कम्पनीहरूको दायित्व बढी हुँदा प्रोभिजनिङ पनि बढी गर्नुपर्‍यो । त्यसले गर्दा नाफामा असर देखिएको हो ।’

यो समस्या अल्पकालीन मात्र हुने उनको भनाइ छ । ‘अहिले प्रोभिजनिङ बढाउँदा अल्पकालीन रूपमा यो समस्या देखिएको हो । दीर्घकालीन रूपमा यसले फाइदा नै गर्छ,’ मेट लाइफका सीईओसमेत रहेका श्रेष्ठले भने, ‘त्यसैले आत्तिनै हाल्नुपर्ने अवस्था छैन ।’

पाँच कम्पनीको नाफा घट्दा सबै बीमा कम्पनीको औसत नाफा पनि घट्न गएको छ । समीक्षा अवधिमा १४ कम्पनीको नाफा बढेको छ । तर, औसतमा भने जीवन बीमा कम्पनीहरूको नाफा १४ दशमलव १७ प्रतिशतले घटेको देखिन्छ ।

गत आवको उक्त अवधिमा जीवन बीमा कम्पनीहरूको औसत नाफा २४ दशमलव २८ प्रतिशतले बढेको थियो । तर, यसपटक भने उच्च मात्रामा बीमा कम्पनीहरूको नाफा घटेको देखिन्छ ।

नाफा कमाउने सन्दर्भमा यसपालि प्राइम लाइफ अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. १२ करोड २५ लाख ७५ हजार खुद नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको सूर्या लाइफले रू. ११ करोड ३५ लाख ९५ हजार नाफा कमाएको छ । यसैगरी तेस्रो स्थान रहेको एशियन लाइफले रू. ९ करोड ६२ लाख नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)