ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण गरिँदै

२०७८ मंसिर, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग चिटिक्क परेको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने उक्त ट्रेलमा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकलाई सहज भएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिनेगरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब २ करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण शुरू भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित मानिन्छ । त्यसैले यसको व्यापक प्रचार प्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।

अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत गरिएको उनले बताए । यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामको रूपमा विकास गर्न लागिपरेको जानकारी उनले दिए ।

हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहणसँगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमाल आरोहण गरेका थिए । अहिले गत असारयता मात्रै करिब ७०० भन्दा बढी आन्तरिक पर्यटक आधार शिविर पुगेको अनुमान गरिएको छ ।

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायत पूर्वाधार निर्माण गरिएको छ । हालसम्म ढुंगा चिनेर ६ हजार ५०० ओटा खुट्किलाको सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष समेत रहेका गुरुङका अनुसार २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माणले पूर्णता पाउन लागेको छ ।

३८ मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विष्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिए । पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुंगे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)