ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापारमा निर्यात शतप्रतिशत वृद्धि

कुल निर्यातमा खाद्य तेलको अंश ५७.८%

२०७८ मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालको वैदेशिक व्यापारको यो ४ महीनामा वस्तु तथा सेवा निकासी शतप्रतिशतले वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिकमा गतवर्षको तुलनामा साउनदेखि कात्तिकसम्मको निकासीमा शतप्रतिशत वृद्धि देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो महीना साउनमा नेपालबाट हुने निकासीमा गतवर्षको तुलनामा ११५ दशमलव ८५ प्रतिशतको वृद्धि देखिएको छ । भन्सारको तथ्यांकअनुसार भदौ, असोज र कात्तिकमा नेपालबाट हुने निकासीमा क्रमशः ११५ दशमलव ४३ प्रतिशत, १०९ दशमलव ५४ र १०४ दशमलव २९ प्रतिशत वृद्धि देखिएको हो । नेपालले कच्चा पदार्थ आयात गरी प्रशोधित खाद्य तेल निकासी गर्दा यो वर्ष नेपालको निर्यातमा शतप्रतिशत वृद्धि भएको हो ।

चालू आवको पहिलो ४ महीनामा नेपालले कुल रू. ८२ अर्ब १२ करोडको वस्तु तथा सामग्रीहरू निर्यात गरेको छ । उक्त निर्यातमा पाम, भटमास र सूर्यमुखी तेल निर्यातको अंश मात्रै ५७ दशलमव ८ प्रतिशत छ । यस अवधिमा नेपालले रू.४७ अर्ब ४६ करोड मूल्य बराबरको प्रशोधित खाद्य (भटमास, पाम र सूर्यमुखी) तेल निर्यात गरेको छ । यस हिसाबले नेपालबाट निर्यात हुने वस्तुहरूमा मुख्य अंश तेलले लिन थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को ४ महीनाको विवरणअनुसार निर्यातमा भटमास तेलको अंश ३२ दशमलव १५, पामको २३ दशमलव १६ र सूर्यमुखी तेलको २ दशमलव ४८ प्रतिशत रहेको छ ।

केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले पाम, भटमास र सूर्यमुखी प्रशोधित तेलको निकासीमा व्यपाक वृद्धि हुँदा यो वर्ष ४ महीना नै निर्यात शतप्रतिशत वृद्धि भएको बताए । यो निर्यातलाई टिकाउ बनाउनु आवश्यक भएको भन्दै उनले नेपाल सरकारले भारतसँग वार्ता गरेर नेपालको निर्यातलाई नियमित र चालू अवस्थामै राख्न पाउने गरी विश्वस्त पार्नुपर्नेमा जोड दिए ।

सरकारका साथसाथै निजीक्षेत्र र नागरिक समाजले पनि यो विषयमा जोड दिनुपर्ने भन्दै उनले भने, ‘भ्यालु एडिसन भएका वस्तुमा छूट पाइने भएकाले दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साप्mटा) कार्यान्वयनलाई जोड दिनुको विकल्प छैन ।’

गतवर्ष भारतले प्रशोधित पाम तेल निकासीमा रोक लगाउँदा नेपालको निर्यातमै ठूलो प्रभाव पारेको थियो । गतवर्ष भारतले यो तेलको निकासीमा रोक लगाउँदा नेपालबाट यस अवधिमा जम्मा रू. ४ लाखको तेल निर्यात भएको टीईपीसीको तथ्यांकले देखाउँछ । चालू आवको यस अवधिसम्म नेपालले रू. १९ अर्ब २ करोडको पाम तेल निकासी गरिसकेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रवि सैंजू पनि तेल निर्यातकै कारण यस्तो वृद्धि देखिएकोमा सहमत छन् । यद्यपि यस्तो निर्यात दीर्घकालीन नहुने उनको तर्क छ ।‘भारतले अन्य देशबाट यस्तो तेल आयात गर्दा महँगो पर्न जान्छ । तर, नेपालबाट निर्यात हुँदा कम पर्छ, २ देशबीच भएको ड्युटी डिफरेन्सेसका कारण मात्रै यस्तो निर्यात सहज र बढ्दो देखिएको हो,’ सैंजूले भने, ‘भारत सरकारले त्यहाँ यस्तो आयातमा लगाएको कर हटाउनबित्तिकै नेपालको लगानी र निर्यात दुवै जोखिममा पर्छ, अहिले उता बढी कर लगाउँदाको फाइदा मात्रै नेपालले लिएको हो ।’ तेलले उचालेको निर्यात दीर्घकालीन नहुने देखिए कोटा प्रणालीमा जान उपयुक्त हुने उनी तर्र्क गर्छन् । भारतले कोटा लगाउने विषय अघि सारे नेपालले यसलाई सकारात्मक लिनुपर्नेमा उनको जोड छ । कोटा प्रणालीमा जाँदा पनि केही मात्रामा भए पनि नेपालले लाभ लिन सक्ने देखिन्छ । उनले नेपालकै वस्तुहरूको निर्यात बढाउन उत्पादन वृद्धिको विकल्प नभएको बताए । नेपालको नजीकका बजार भारत, चीन र बंगलादेशमा बहुराष्ट्रिय कम्पनीहरू आइरहेको भन्दै उनले नेपालले यिनै बजारलाई लक्षित गरेर उत्पादन र निकासी बढाउनेतर्फ ध्यान दिन जरुरी भएको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)