ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सारबाट हुने निकासीमा वृद्धि

व्यापारघाटा अन्य नाकाको तुलनामा कम

२०७८ मंसिर, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश नं. १ को प्रमुख नाकाका रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट ५ वर्षमा ५ अर्ब ४० करोड मूल्य बराबरको निकासी वृद्धि भएको छ । अन्य भन्सार कार्यालयमा व्यापार घाटाको अनुपात ८ प्रतिशत रहे पनि विराटनगर भन्सार कार्यालयबाट हुने व्यापारमा भने ५ दशमलव १४ प्रतिशत मात्रै व्यापारघाटाको अनुपात रहेको छ ।

भन्सारको तथ्यांकअनुसार आव २०७३/७४ मा २१ अर्ब ४४ करोड ३२ लाख ४७ हजार बराबरको निकासी भएकोमा गत आव २०७७/७८ मा ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार पुगेको छ ।

मुलुकको तेस्रो प्रमुख नाकाका रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयातसँगै निर्यातसमेत वृद्धि हुन थालेको छ । अन्य भन्सारको तुलनामा विराटनगर भन्सार नाकाको व्यापारघाटा कम रहे पनि आव २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजारको सामान आयात भयो । त्यस्तै ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार रुपैयाँको वस्तु निर्यात भयो । यो आवमा १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापारघाटा रहेको तथ्यांकले देखाएको छ । कोरोनाको कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत अमित तिवारीले कोरोनाका कारण उद्योग व्यवसाय बन्द भएका कारण आव २०७६/७७ मा विराटनगर भन्सार कार्यालयले कम राजस्व संकलन गरेको तर अहिले अवस्था सामान्य हुँदै गएकाले भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरिरहेको बताए ।

तिवारीले ढुवानीभाडा ३ रुपैयाँ लिटर सस्तो पर्ने भएपछि नेपाल आयल निगमले काँकडभिट्टा नाकाबाट मात्र पेट्रोलियम ढुवानी गरिरहेकाले विराटनगर भन्सारको राजस्वमा केही कमी आएको हो ।

विराटनगर भन्सार कार्यालयले चालू आवको साउन महीनामा ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ११५ दशमलव ८२ प्रतिशत हो । भदौ महीनामा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको १०० दशमलव १३ प्रतिशत हो । असोज र कात्तिक महीनामा भने अर्थ मन्त्रालय राजस्व संकलनको लक्ष्यमा २० प्रतिशत थप गरेका कारण ९२ दशमलव ६२ र ८४ दशमलव १३ प्रतिशत अर्थात् ३ अर्ब ७९ करोड २४ लाख १९ हजार असोज महीनामा राजस्व संकलन भएको छ भने कात्तिक महीनामा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ राजस्व उठेको छ ।

विराटनगर भन्सार नाका हुँदै नेपाल आयात हुने प्रमुख १० वस्तुहरूमा भटमासको कच्चा तेल, एमएस ब्लेड, पोलिथिन दाना, स्टील वायर रड इन क्वाइल, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, खाद्यान्न मकै, सीआरसीट, खाना पकाउने एलपीग्यास र औद्योगिक मेशिनरी छन् ।

विराटनगर भन्सार नाका हुँदै निकासी हुने प्रमुख १० वस्तुमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, कपडा (ऊनी, सुती, टेरिकटनबाहेक), चाउचाउ, नुडल्स, पास्ता त्यस्तै तेल पेलाई सकेपछि निस्कने पिना, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल र तामाको सीट, चादर र स्ट्रीपले सबैभन्दा बढी निकासी हुने १० वस्तुमा स्थान लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)