ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सासुकोषमा डेढ अर्ब निकासा गर्न ढिलाइ

२०७८ मंसिर, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा गरिदिने घोषणा गरेका थिए ।

सरकारले यस्तो व्यवस्था गरेपछि सामाजिक सुरक्षा कोषले कम्पनीहरूलाई जेठ र असारको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिन नपर्ने सूचना जारी पनि ग¥यो । तर, अर्थ मन्त्रालयबाट हुनुपर्ने निकासा अहिलेसम्म नभएको कोषका अधिकारीहरू बताउँछन् ।

सामाजिक सुरक्षा कोषका अनुसार, सरकारले घोषणा गरेको १ लाख ७५ हजार योगदानकर्ताको करीब डेढ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्छ । त्यो रकम निकासाका लागि गत असारमा सामाजिक सुरक्षा कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसमक्ष दाबी निवेदन पेश गरको थियो । तर, अहिलेसम्म सुनुवाइ नभएको कोषका निर्देशक विवेक पन्थीले बताए ।

‘हामीले बजेटमा आएको व्यवस्थाअनुसार जेठ र असारको योगदान जम्मा नगर्न योगदानकर्तालाई सूचित ग¥यौं । तर, सरकारले अहिलेसम्म निकासा गरिदिएन,’ उनले भने ।
निकासामा ढिलाइ भए पनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको सामाजिक सुरक्षा कोषले बताएको छ । ‘प्रक्रियामा रहेकाले ढिलोचाँडो निकासा हुनेमा हामी विश्वस्त छौं, योगदानकर्ता आत्तिहाल्नु पर्दैन,’ उनले भने ।

बन्दाबन्दीका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भई निजीक्षेत्र मारमा परेको बेला कोभिड शुरू हुने वर्ष सरकारले राहतस्वरूप बन्दाबन्दी अवधिभरको श्रमिक र प्रतिष्ठानले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान आफैले बेहोर्ने घोषणा गरेको थियो । र उक्त अवधिको सामाजिक सुरक्षा कोषअन्तर्गत रू. १ अर्बभन्दा बढीको दायित्व सरकारले बेहोरेको थियो ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार प्रक्रियामै रहेकाले निकासा छिट्टै हुनेछ, प्राथमिकतामा सामाजिक सुरक्षा कोषको निकासाभन्दा अरू पर्दा केही ढिलाइ भएको हो ।

‘सरकारले घोषणा गरेअनुसार गतवर्ष पनि बेहोरेकै हो, अहिले पनि बेहोर्छ ।’ अर्थ मन्त्रालयका एक सहसचिवले बताए । सामाजिक सुरक्षा कोषका अनुसार महामारीयता कोषमा आबद्ध हुनेक्रम बढ्दो छ ।

मङ्सिर १५ गते सम्ममा १५ हजार ८९२ रोजगारदाता कोषमा आबद्ध भएका छन् भने त्यहाँ कार्यरत २ लाख ९८ हजार योगदानकर्ता सामाजिक सुरक्षा कोषभित्र आइसकेका छन् । कोषले योगदानकर्ताबाट यो अवधिमा १० अर्ब ७३ करोड संकलन गरिसकेको छ । यो अवधिमा १० हजार ६ सयभन्दा बढीले कोषबाट पाइने सुविधा दाबी गरेका छन् भने अहिलेसम्म दाबी भुक्तानी रकम रू. ४८ करोड १२ लाख पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)