ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्तमा शहरी विकास आयोग गठन

२०७८ मंसिर, २३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माणका योजनालाई थप व्यवस्थित बनाउन ‘शहरी विकास आयोग’ गठन गरेको छ । आयोगलाई योजना बैंकको अवधारणा अनुसार अघि बढाइएको छ । नेपालका थोरै मात्र स्थानीय तहले शुरू गरेको यो अवधारणा अघि बढाउने भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका हो ।

आयोगले नगरपालिकाका योजना तर्जुमा र योजनाको प्राथमिकीकरण गर्दै त्यसको कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्नेछ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विकासलाई थप व्यवस्थित गर्दै तीव्रता दिन योजना आयोग गठन गरिएको बताए । उनका अनुसार आयोगले योजना बैंकको रूपमा काम गर्नेछ । ‘समृद्ध नगरको निर्माणका लागि सबै क्षेत्रको विकासलाई समेटेर लैजानुपर्ने आवश्यकता छ,’ नगर प्रमुख विष्टले भने, ‘योजना आयोगले जनताको आवश्यकताका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्छ । त्यसलाई प्राथमिकीकरण गरेर कार्यान्वयनको चरणमा लगिन्छ ।’ योजना तर्जुमा गरी त्यसको बजेट सुनिश्चितताका लागि केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग नगरपालिकाले पहल गर्ने उनले बताए ।

आयोगका अध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले भीमदत्तलाई आधुनिक शहर र समृद्ध नगरको रूपमा विकास गर्न आयोगको महŒवपूर्ण भूमिका रहने बताए । त्यस्तै नगरपालिकाले नगर योजना परिषद् गठन गरेको छ, जसमा केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एवम् प्रतिनिधिलाई सदस्यको रूपमा राखिएको छ । आयोगले योजनाको निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबीच समन्वय गर्ने नगर प्रमुख विष्टले बताए ।

योजना आयोगका उपाध्यक्ष अर्जुन कार्कीले योजनाबद्ध रूपमा विकास निर्माण अघि बढाउन आयोगले काम गरिरहेको बताए । ‘आयोगले टोल विकास संस्थादेखि विज्ञ समूहसम्म छलफल गरेर योजना बनाउनेछ,’ उनले भने । यस्तै लगानीमैत्री वातावरण सृजना गरी दातृ निकायलाई योजना कार्यान्वयनका लागि प्रस्ताव राख्ने समेत उनले बताए ।

आयोगका संयोजक नवीन भण्डारीले आयोगले पालिकाका विभिन्न शाखासँग छलफल योजना बैंकको रूपमा काम गरिरहेको बताए । उनका अनुसार आयोगले नगर प्रोफाइल निर्माण गरिसकेको छ । आयोगद्वारा प्रस्तावित योजना सम्बन्धित कार्यालय र विषयगत शाखासँग छलफल तथा समन्वय गरी अघि बढाइने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)