ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समय दोब्बर बित्यो, सकिएन व्यापारिक मार्ग विस्तार

२०७८ मंसिर, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । दुई वर्षमा सक्ने लक्ष्य राखेर विस्तार थालिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग साढे ५ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन । देशकै मुख्य नाका र औद्योगिक कोरिडोरलाई जोड्ने व्यापारिक मार्गको स्तरोन्नतिमा भइरहेको ढिलाइले उद्योग व्यापारदेखि समग्र आवागमन समस्याग्रस्त बनेको छ ।

वीरगञ्ज–पथलैयाको मितेरी पुलदेखि पथलैया र सुक्खा बन्दरगाह आईसीपी भएर हुने ढुवानी र आवतजावत सकसपूर्ण बनेको छ । शुरूमा ६ खण्डमा बाँडेर ठेक्का लगाएको व्यापारिक मार्ग विस्तार आयोजनाले पुल निर्माणलगायतका काम थपेर ठेक्कालाई १३ खण्डमा पुर्‍याइसकेको छ ।

कुनै पनि खण्ड निर्माण सम्पन्न भने भएको छैन । अहिलेसम्म १३ निर्माण कम्पनीमध्ये कुनैले पनि निर्माण सम्पन्नको प्रमाण नलिएको आयोजना कार्यालयले बताएको छ ।

६ लेनको व्यापारिक मार्गको केही खण्ड कालोपत्र भएको पनि छ । निर्माण पूरा नहुँदै यो सडक भत्किन थालिसकेको छ । सडकमा गुड्ने ढुवानीका साधनले भारवहन मापदण्ड पालना नगर्दा सडक भत्किएको निर्माण व्यवसायी र आयोजनाको भनाइ छ ।

व्यापारिक मार्ग स्तरोन्नति भएपछि औद्योगिक कच्चा पदार्थ र तयारी मालबस्तुको ढुवानी सहज हुने अपेक्षा राखिएकोमा दोब्बर समय बितिसक्दा पनि पूरा नहुँदा समस्या भएको वीरगञ्ज उद्योग वाणिज्य संघ उद्योग समितिका संयोजक हरि गौतम बताउँछन् । ठाउँठाउँमा मुख्य लेन निर्माण गरिए पनि सर्भिस लेन, ग्रिन बेल्ट, रङरोगनको काम भएको छैन । सरकारले कोरोना महामारीलाई कारण देखाएर सम्पूर्ण योजनाको म्याद ६ महीना थपेको छ । यस आधारमा यो मार्ग विस्तारको जिम्मा लिएका ठेकेदारहरुले आगामी फागुन चैतसम्म समय पाएका छन् । थपिएको समयसीमाभित्र सडक विस्तारको काम पूरा हुने विश्वास आयोजनाका प्रमुख मनीषकुमार साहको छ । सडक निर्माणमा भइरहेको ढिलाइका कारण ढुवानी र  आवागमन सकसपूर्ण भएको भन्दै बारा र पर्सा जिल्लाका प्रशासन प्रमुखले सरोकारका पक्षलाई बोलाएर छलफल राखेका थिए । मंगलवार वीरगञ्जमा भएको छmलफलका क्रमममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले आउँदो फागुनसम्म काम सक्न निर्माण आयोजना र निर्माण व्यावसायीलाई निर्देशन दिएका छन् ।

पछिल्लो पटक थपिएको समयभित्र काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । यो मार्गको स्तरोन्नतिको काम २०७३ असारमा थालिएको थियो ।

शुरूमै ठेक्का लिएका व्यवसायीले पनि अहिलेसम्म काम पूरा गरेका छैनन् । पेश भएको बीलको भुक्तानी समयमा नपाउनु, मुआब्जाको विवाद, निर्माण सामग्री आपूर्तिमा अवरोध, राइटअफ वेका समस्यालगायतले ढिलाइ भएको तर्क निर्माण व्यवसायीले गरे ।

यसअघि २ लेनको त्रिभुवन राजपथ र आईसीपीदेखि परवानीपुरसम्मको सडक ५० मिटर फराकिलो बनाइने योजना छ । व्यापारिक मार्गको बीचबाट ११/११ मिटर दाँयाबाँया ६ लेनको मुख्य सडक निर्माणको काम भइरहेको छ । दुवैतर्फ साढे ३ मिटरको ग्रीन बेल्ट र साढे ५ मिटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजनाको भनाइ छ । सर्भिस लेनपछाडि दुवै किनारमा साढे ३ मिटरमा नाली र फुटपाथ निर्माण भइरहेको छ । परवानीपुरदेखि गण्डकसम्मको सडकलाई भने ४ लेन बनाउने गरी काम भइरहेको आयोजनाले बताएको छ । व्यापारिक मार्गलाई जतिसक्दो चाँडो पूरा गरिनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका गौतम बताउँछन् । व्यापारिक मार्ग निर्माणमा ढिलाइले यो क्षेत्रको सम्भाव्यता उपयोगमा कठिनाइ भइरहेको गौतमको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)