ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३२०० विन्दु नजिक पुगेको नेप्से २३०० विन्दुमुनि

लगानीकर्ताहरूको सम्पत्तिको मूल्य करीब १३ खर्ब घट्यो

२०७८ मंसिर, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको छ ।

सोमवार नेप्से परिसूचक २ हजार २८१ दशमलव ६७ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक उच्च अंकबाट ९१६ दशमलव ९३ अंकले घटिसकेको छ । यस बीचमा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको छ ।

नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण हालसम्मकै उच्च रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । सोमवार यो रकम रू. ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको छ ।

सोमवार नेप्सै अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३७ प्रतिशत घटेर २ हजार ३०० विन्दुमुनि पुगेको छ । यो दिन बजारमा रू. ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता धितोपत्र कारोबार भएको छ ।

यो दिन २२३ कम्पनीहरूको धितोपत्र कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सोमवार कारोबार रकम भने बढेको छ । आइतवार २२८ कम्पनीहरूको रू. ३ अर्ब ३८ करोड २५ लाख ९ हजार बराबरको कारोबार भएको थियो । सोमवार जम्मा १२ कम्पनीहरूको मात्र धितोपत्रको मूल्य वृद्धि भएको छ ।

कोभिडका कारण अन्य क्षेत्रका व्यापार व्यवसाय बन्द भएसँगै १ हजार १०० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार पछिल्लो समय अन्य व्यापारिक क्षेत्र सुचारु भएसँगै प्रभावित बनेको हो । बैंक तथा वित्तीय संस्थाहरूको बढी स्वामित्व रहेको धितोपत्रको दोस्रो बजार त्यस क्षेत्रका नियामक निकाय नेपाल राष्ट्र बैंकको नीतिका कारण बढी प्रभावित बन्ने गर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको शेयर धितो कर्जाको सीमाका कारण बजार थप प्रभावित बन्यो ।

नेपाल राष्ट्र बैंकले साना लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी शेयर धितो कर्जाको सीमा न्यूनतम रू. ४ करोडदेखि अधिकतम रू. १२ करोडसम्म झारेको हो । उक्त व्यवस्था लागू भएपश्चात् ठूला लगानीकर्ताले कर्जाको सीमा घटाउनकै लागी शेयर विक्री गर्दा बजार प्रभावित बनेको सरोकारवालाहरूको भनाइ छ ।साथै, बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य कर्जाको अभाव भई ब्याजदर बढेका कारण पनि धितोपत्र दोस्रो बजारमा लगानी कम हुन थालेको हो ।

सूचनाका कारण प्रभावित बन्ने नेपालको शेयरबजार आइतवार नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण पनि थप प्रभावित बनेको लगानीकर्ताको आरोप छ । आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए ।

यसैबीच, लगानीकर्ताका सबै संघहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरी पूँजीबजारको सुधारका लागि संयुक्त माग अघि सारेका छन् । कार्यदलले सोमवार अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरूले ३ वर्षअघि नै गर्छु भनेका ५८ बुँदामध्येका बाँकी कार्य तत्काल कार्यान्वयन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय सुझाव समितिले दिएका ५८ बुँदामध्ये बजारका लागि महत्त्वपूर्ण कार्यहरू सम्पन्न नहुँदा र पछिल्ला नीतिगत परिवर्तनका कारण बजार निरन्तर ओरालो लागेको संयुक्त कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले बताए । पूँजीबजारको यो संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्पmत मार्जिन ट्रेडिङ कारोबार पूर्णरूपमा लागू हुनुपर्ने, राष्ट्र बैंकले लगाएको शेयर धितो कर्जाको सीमा तत्काल हटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख तत्काल नियुक्त गर्नुपर्ने उनको भनाइ छ । करीब ३५ खर्ब पुगेको बजारले १२ खर्बभन्दा बढी गुमाइसक्दा सरकारको पनि अर्बौं राजस्व गुमेकाले यसप्रति सरकारले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए ।

घटबढमा मन्त्रीको कुनै भूमिका हुँदैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले शेयरबजार घटाउन र बढाउन भूमिका खेल्न नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नियमनकारी निकायलाई मात्र पूँजी बजारलाई कसरी सञ्चालन गर्ने विषय थाहा हुने बताए ।

‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला,’ मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने र बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानूनलाई व्यवस्थित बनाउने काम गर्ने हो ।

त्यसमा हामी लागेका छौं ।’ मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैं गम्भीर रहेको बताए ।

मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानविन गरेर कारबाहीसमेत गरिसकेको उनले बताए । शेयरबजारको समस्या समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत शर्माले जानकारी दिए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उनको आग्रह छ । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई उनको आग्रह थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)