पर्वत । कालीगण्डकी नदीबाट निर्माण वस्तुको उत्खनन रोकिँदा पर्वतका स्थानीय तहको आम्दानी गुमेको छ । आन्तरिक आयको बलियो स्रोत रहेको नदीजन्य पदार्थको उत्खननबाट स्थानीय तहले राम्रो आम्दानी लिँदै आएका थिए । अदालतको आदेशले गतवर्षदेखि उत्खनन रोकिँदा स्थानीय तहको आम्दानी गुमेको हो ।
नदीजन्य पदार्थको आम्दानी गुमेपछि जलजला गाउँपालिकाले भने स्लेट ढुंगा उत्खनन गरेर आम्दानी गर्ने बाटो रोजेको छ । जलजलामा रहेको ढुंगाखानी उत्खनन गरेर विक्री गर्न गाउँपालिकाले स्लेट ढुंगा खानी उत्खनन सम्बन्धी कार्यविधि बनाएर चालू आवमा उत्खनन शुरू गरेको हो ।
गाउँपालिकाका राजस्व अधिकृत लीलाधर सुवेदीका अनुसार नदीजन्य पदार्थ उत्खनन हुन नसक्दा गाउँपालिकाको आम्दानी आधा घटेको छ । आन्तरिक आम्दानीले नागरिकका अधिकांश मागहरू सम्बोधन गर्न कठिनाइ भइरहेको उनले बताए ।
नदीको आम्दानी गुमेपछि गाउँपालिकाले स्लेट ढुंगालाई उत्खनन गरी निकासी गर्ने र गाउँपालिकाको राजस्वमा वृद्धि गर्ने सोच बनाएको छ । यसले खेर गएको ढुंगाले बजार पाउने र स्थानीय स्तरमा रोजगारीको सृजना गर्न सकिने गाउँपालिकाले बताएको छ ।
स्लेट ढुंगा उत्खनन तथा कटिङ ढुंगा उद्योग सञ्चालन कार्यविधि २०७८ तर्जुमा गरी लागु गर्न लागिएको सुवेदीले बताए । गाउँपालिकाले स्लेट ढुंगा भएका जग्गाधनीहरू र गाउँपालिकाबीच बिहीवार सम्झौता गरेको छ । गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेर सबै प्रक्रिया पूरा गरिसकेकाले तुरुन्तै प्रक्रियामा लैजाने सुवेदीले बताए ।
अब विगतमा जस्तै स्लेट ढुंगा निकासीमा व्यवसायीले बेचौलियाहरूको संगत गर्न नपर्ने, पारदर्शिता कायम हुने र गाउँपालिकाको राजस्वमा वृद्धि भई स्थानीय जनताका माग सम्बोधन गर्न सहज हुने उनले बताए ।
कालीगण्डकी नदीमा अहिले निर्माण सामग्री उत्खननमा पूर्णरूपमा रोक लगाईएको छ । अदालतको आदेशले नदीजन्य पदार्थ उत्खननमा रोक लाग्दा निर्माण सामग्री अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था छ । अर्कोतिर, नदीमा आश्रित परिवारको आर्थिक उपार्जनमा समस्या भएको छ ।
जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँट लगायतमा यसअघि पनि स्लेट खानी उत्खनन गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो । अब भने सबै स्थानीय तहबाट अनुमति लिएर सञ्चालन गर्न पाइने भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए ।