पुस १५, काठमाडौं। १ हजार ७०० मेगावाट विद्युत् माग हुँदा नै नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली प्रभावित भएको छ ।
प्राधिकरणका अनुसार मंगलवारदेखि मौसममा आएको खराबीका कारण चिसो बढेसँगै विद्युतको उच्चतम माग १ हजार ६९९ मेगावाट रेकर्ड भएको छ। मंगलवारको तुलनामा बुधवार र बिहीवार चिसो बढ्दा विद्युत् माग पनि यतिबेलै बढेको थियो। तर मंगलवार बेलुका १ हजार ७०० मेगावाट हाराहारी विद्युत् माग पुग्दा नै उपत्यकासहित देशका विभिन्न ठाउँमा लाइन गएको थियो।
मंगलवार राती बिग्रिएको लाइन केही ठाउँमा बुधवार मात्रै मर्मतपछि सञ्चालनमा आएपनि बढेको विद्युत् माग धान्न नसक्दा त्यसमा झ्याप झ्याप बिजुली जाने समस्या आइरहेको थियो।
५० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना पहिचान भएको नेपालमा २ हजार मेगावाट जडित क्षमता उत्पादनमा आइसकेको छ। आगामी २/ ३ वर्षभित्र थप ३ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुँदैछ।
तर विद्युत् प्राधिकरणको दशकौं पुरानो वितरण प्रणालीको भर पर्दा भने अहिले उत्पादन भएको सबै विद्युत् पनि खपत गराउन नसकिने अवस्था रहेको देखिन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकालगायत बढी विद्युत् माग हुने शहरी क्षेत्रमा थप ट्रान्सफरमर राख्न नदिए जुनसुकै बेला विद्युत् प्रणालीमा असर पर्न सक्ने भन्दै चेतावनी दिंदै आएका छन्।
मेरो घरको अगाडी ट्रान्सफरमर राख्नै दिन्न भन्ने जिद्दी शहरका लागि महंगो पर्न सक्ने भन्दै घिसिङले भने, ‘ट्रान्सफरमर कहिल्यै पनि बम पड्किए जस्तो पड्किदैन। त्यसले माग अनुसार विद्युत् ट्रान्सफर गर्न नसक्दा ट्रान्सफरमर भित्र रहेका तारहरु मात्रै जल्छन्। यसबाट घरमा कुनै पनि किसिमको जोखिम हुँदैन।’
यो पनि पढ्नुहोस् :
काठमाडौंमा ट्रान्सफरमर राख्न नदिए अन्धकार हुन सक्ने कुलमानको चेतावनी, 'प्रणाली ओभरलोड'
हाल सम्मकै उच्च विद्युत् माग
देशभर चिसो बढेसँगै मंगलवार बेलुका रेकर्ड भएको १ हजार ६९९ मेगावाट विद्युत् माग हालसम्मकै उच्च विद्युत् माग हो। यसअघि विद्युतको उच्चतम माग १ हजार ६५० मेगावाट हाराहारी मात्रै पुगेको थियो।
विद्युत् माग बढ्दा खुसी भएका विद्युत् प्राधिकरणका अधिकारीहरु एक छिन पछि ट्रान्सफरमरको तार जल्ने, फ्युज उड्ने र कन्डक्टरहरु चुडिन थालेपछि भने निराश भएका थिए।
मंगलवार रेकर्ड भएको पीक डिमाण्डनै अहिलेसम्मको उच्च माग हो। तर सोही दिन रातीदेखिनै अवरुद्ध भएका वितरण लाइनहरु मर्मतपछि पनि बिग्रिन थालेपछि भने बुधवार विद्युतको उच्चतम माग र खपत दुवै घटेको हुन सक्ने विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए।
देशभर चिसो बढेका कारण विद्युत् मागमा वृद्धि भएको तर करीब १ हजार ७०० मेगावाट माग पुग्दा प्राणालीमा समस्या देखिएको भट्टराईले बताए।
‘धेरै वितरण फिडरहरु ट्रिप भएका छन्। कन्डक्टरहरु चुडिएका छन्। फ्युजहरु जलेका छन्,’ कलंकी स्थित भार प्रेषण केन्द्रका प्रमुखसमेत रहेका भट्टराईले आर्थिक अभियानलाई भने, ‘वर्षौ पुराना ट्रान्सफरमरहरुका तार पनि जलेका छन्। यसकारण बुधवार विद्युत् माग बढी भएपनि प्रणालीमा त्यो रेकर्ड रहने सम्भावना कम छ।’ मंगलवार दिनभर भएको विद्युत् ऊर्जा खपतको तथ्याङ्क बिहिबार बेलुकासम्म मात्रै आउँछ।
कुल खपत ३ करोड युनिट, भारतबाट आयात ७१ लाख युनिट
पीक समयको उच्चतम माग बढेसँगै खपत भएको ऊर्जाको परिमाणमा पनि वृद्धि भएको छ।
मंगलवार देशभर खपत भएको विद्युत् ऊर्जा करीब ३ करोड युनिट रहेको प्राधिकरणको तथ्याङ्क छ। कुल खपत भएको विद्युत् ऊर्जा भने सर्वाधिकको रेकर्डभन्दा करीब ३० लाख युनिटले कम हो। करीब ३ करोड युनिट (२ करोड ९९ लाख ६५ हजार युनिट) विद्युत् ऊर्जा खपत हुँदा भारतबाट यो ७१ लाख युनिट विद्युत् ऊर्जा आयात गरिएको छ।
विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख १ हजार युनिट, प्राधिकरणका सहायक कम्पनीबाट ४५ लाख १४ हजार युनिट, निजी क्षेत्रबाट ९४ लाख ५ हजार युनिट र भारतबाट ७१ लाख ९ हजार युनिट विद्युत् ऊर्जा आयात गरेर मंगलवारको विद्युत् माग व्यवस्थापन गरिएको प्राधिकरणले बताएको छ।
मंगलवार विद्युत् माग उच्च भएपछि लाइन ट्रिपिङ हुँदा ३५ हजार युनिट विद्युतको अधिक माग हुँदा हुँदै पनि आपूर्ति गर्न नसकिएको प्राधिकरणले बताएको छ।
yo nea ko matra dayitwa hoina. sabai desh basi le jimmewar bannu parxa. nea ko hoste ma haise milau.