ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुने

२०७८ पौष, १६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्केमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हाई अल्टिच्युड खेलमैदान निर्माण गरिने भएको छ । जिल्लाको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न मनीषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउन ठेक्का सम्झौता भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘हिमालको काखैमा निर्माण गरिने यो खेल मैदानलाई नेपालकै नमूना खेल मैदान बनाउने लक्ष्य छ, खेलकुदको माध्यमबाट पनि पर्यटक आकिर्षत गर्न सकिन्छ भन्ने उदाहरण टोड्केबाट दिनेछौं,’ अध्यक्ष भण्डारीले भने ।

टोड्केबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि सहित दर्जनौं हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यस्तै टोड्केको मालिका मन्दिर आसपासमा बन्ने खेलमैदान नजिक गुराँसको घनाजंगल समेत रहेकाले सिजनमा गुराँस, हिमाल हेर्दै खेलकुद गतिविधिको अवलोकन गर्न सकिने बताइएको छ । खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि ५ करोडभन्दा बढी लागतमा थप संरचना बनाइने बताइएको छ ।

टोड्केमा बन्ने हाई अल्टिच्युट खेलमैदानमा खेलकुदको माध्यमबाट पर्यटक भित्र्याउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताए । ‘यहाँको सम्भावना उजागर गर्न सके उल्लेख्य पर्यटक आउँछन्, अहिले पूर्वाधार विस्तार भएकाले चहलपहल धेरै छ,’ उनले भने ।

पर्यटकीय स्थल टोड्केमा तीन पूर्वाधार योजना सञ्चालनमा आएका छन् । रघुगंगा गाउँपालिकाले पदमार्ग, उद्यान र सडक निर्माण गरिरहेको छ । गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।

उनका अनुसार वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित  ५८ लाख दुई हजार ७३२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईओटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान निर्माणको अन्तिम चरणमा रहेको छ । झिँ–टोड्के सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सडक र पदमार्ग निर्माण भएसँगै पर्यटकलाई आवतजावतमा सहज हुनेछ । टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)