ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुध्रियो प्रक्रिया, सुधारिएन प्रणाली : अनलाइन राजस्व भुक्तानीले भन्सार जाँचपासमा थपियो सकस

२०७८ पौष, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा परीक्षणका रूपमा लागू गरेको अनलाइनबाटै राजस्व तिर्ने प्रक्रियाको कार्यान्वयनमा समस्या देखिएको छ ।

सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँचपासमा ढिलाइ भएको आयातकर्ताले बताएका छन् । २० लाख रुपैयाँभन्दा बढी राजस्व तिर्नुपर्ने सेवाग्राहीलाई समस्या परेको हो ।

भन्सार जाँचपासलाई छरितो थप छरितो बनाउन पहिलोपटक सुक्खा बन्दरगाह भन्सारमा लागू गरिएको प्रणालीका सुधारको खाँचो रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।

भन्सार विभागका अधिकारी र परामर्शदातालाई यसका समस्या र समाधानका उपायबारे जानकारी गराइएको पनि उपाध्यक्ष राजपालले जानकारी दिए । यो प्रणालीमार्पmत प्रयोगकर्ताले नेपाल क्लियरिड हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनएचसीएल बैंक सेन्टर र एलएचसीएलमार्पmत राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

व्यवसायीका अनुसार यो प्रणालीअन्तर्गत कर्पोरेट पेमार्फत भुक्तानी गर्दा बढी समस्या देखिएको छ । २० लाख रुपैयाँभन्दा बढी राजस्व भुक्तानीका लागि यो प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । १ तिहाइभन्दा बढी कन्साइन्मेन्टमा राजस्वको यो सीमा लागू हुने आयातकर्ता बताउँछन् ।

कर्पोरेट पेमार्फत दिउँसो २ बजेभन्दा पछाडिको भुक्तानी भोलिपल्टमात्रै भन्सारको खातामा जाने भएपछि भन्सारमा एक दिन बढी समय लाग्ने गरेको राजपालले बताए ।

अन्य माध्यमबाट २० लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न नमिल्ने र एकैपटक गर्नुपर्ने भएकाले मालसामानको जाँचपासमा बढी समय लागेको र यसबाट लागत बढ्न जाने व्यवसायीको भनाइ छ ।

कर्पोरेट पेमा शुक्रवार १२ बजेसम्ममात्रै काम हुने र शनिवार भुक्तानीको काम नै नहुने भएपछि झन् विलम्ब हुने आयातकर्ता बताउँछन् ।

त्यसअघि गुड फर पेमन्टमार्फत साँझ ६ बजेसम्म ३६५ दिन नै काम हुनेमा यो प्रणालीले काम गर्ने समय घटेकाले खर्च बढ्ने दाबी राजपालको छ । भन्सार विभागले पुस १ गतेदेखि सुक्खा बन्दरगाहमा लागू गरेको यो प्रणालीलाई माघ १ गतेदेखि देशभरका सबै भन्सार कार्यालयमा कार्यान्वयनमा ल्याउने योजना बनाएको छ ।

परीक्षण कार्यान्वयनकै क्रममा समस्या देखिएकाले प्रणालीमा सुधार गरेरमात्रै अन्यत्र लागू गरिनुपर्ने सुझाव संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाको छ ।

भन्सार विभागले सहजीकरणका लागि सेवाग्राहीसित छलफल गरेको र सहजीकरणमा भन्सार प्रशासन प्रयासरत रहेको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।

‘नयाँ प्रणाली भएकाले एजेन्टहरूले चलाउन नजानेर पनि समस्या भएको हुन सक्दछ । कार्यान्वयनका क्रममा देखिएका समस्या विस्तारै समाधान हुँदै जान्छन्, खत्रीले आथिर्क अभियानसँग भने । नेपाल क्लियरिङ हाउस र भन्सार विभागकोआशिकुडा वर्ल्डबीच सम्पर्क स्थापित गरी यो प्रणालीको शुरुआत गरिएको थियो । प्रयोगकर्ताले रियल टाइम ट्रान्जेक्सनमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन रियल टाइम ट्रान्जेक्शनबाट ३० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने गरी प्रणाली विकास गरिएको भन्सारले बताएको छ ।

यो प्रणालीको प्रयोगबाट राजस्व बुझाउन भन्सार एजेन्टहरूले नगद रकम बोक्नुपर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैंकमा धाउनुपर्नेलगायत समस्या हट्ने बताइएको थियो । भन्सार विभागले भन्सार प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन अनलाइन प्रणालीलाई प्रवर्द्धन गर्दै आएको छ ।

भन्सारको सर्भरमा बारम्बार समस्या आउँदा भन्सारको जाँचपास, भुक्तानीलगायतमा विलम्बहुने गरेको व्यवसायी बताउँछन् । प्रक्रियागत सुधारका लागि अनलाइन प्रणाली राम्रो भए पनि यसको पूर्वाधार बलियो नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेको भन्सार एजेन्टहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)