वीरगञ्ज । वीरगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बित्न लागिसक्यो । वीरगञ्ज नाकामार्फत हुने सम्पूर्ण वैदेशिक व्यापार यो एकीकृत संरचनाको मातहतमा ल्याउने योजना भने अझै पूर्ण भएको छैन ।
आईसीपीमा ओपेन डस्टी (बढी धूलो हुने) कार्गो र यात्रु भित्र्याउने बेग्लै लेनको व्यवस्था हुन नसक्दा वीरगञ्जको साविक इनर्वा भन्सारलाई यहाँ सार्न नसकिएको हो । वीरगञ्ज भन्सारबाट भित्रिने मालसमान अहिले पनि आईसीपी र इनर्वा नाकाबाट दुवैतिर आउने गरेको छ ।
आईसीपीमा डस्टी कार्गो र यात्रु आवागमनका लागि बेग्लै लेनको व्यवस्था हुन नसक्दा इनर्वा भन्सारलाई आईसीपीमा गाभ्न नसकिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश कार्गो आईसीपीमा गइसकेको छ । डस्टी कार्गोमा पर्ने कोइला र स्ल्याग इनार्वाबाटै आउँछ । रेलमार्फत रक्सौल यार्डमा अनलोड हुने यस्ता वस्तु र साल्ट ट्रेडिडले आयात गर्ने नुन तथा केही परिमाणमा फलाम उद्योगको कच्चा पदार्थ इनर्वाबाटै भित्रिने भन्सारले बताएको छ ।
सिमेन्ट उद्योगको सहायक कच्चा पदार्थ कोइला र स्ल्यागको सबै परिमाण इनर्वाबाटै आउँछ । यस्तो मालसामानमा धूलो बढी हुने भएकाले व्यवस्थापन असहज हुने भन्सारले बताएको छ ।
केही वर्षअघि भारतको रक्सौल रेलवे यार्डमा नेपालका लागि आउने क्लिंकर अनलोडमा त्यहाँका स्थानीयले अवरोध गरेका थिए । क्लिंकरको धूलोले स्वास्थ्य समस्या भएको उनीहरूको भनाइ थियो ।
विरोध भएपछि बारा–पर्साका सिमेन्ट उद्योगले करीब डेढ सय किलोमीटर टाढाको नारायणपुर स्टेशनबाट क्लिंकर ओसारेका थिए । स्वदेशमै पर्याप्त उत्पादन हुन थालेपछि अहिले क्लिंकर आायत बन्द भइसकेको छ ।
क्लिंकरमा प्रयोग हुने कोइलाको आयात भने बढेको छ । खुला र अधिक धूलोयुक्त यस्तो कार्गोले वातावरण बिगार्ने भएकाले आईसीपीको पूर्वतर्फ बेग्लै लेन बनाउनेबारे छलफल भइरहेको भन्सारले बताएको छ ।
डस्टी कार्गो र यात्रु आवागमनको लेन आईसीपीभित्रै बनाउनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल पनि बताउँछन् । यसबारेमा अर्थ र उद्योग तथा वाणिज्य मन्त्रालयको टोलीले पटकपटक स्थलगत निरीक्षण गरिसकेको छ ।
‘यसबारेमा निजीक्षेत्रसँग पनि बारम्बार छलफल भए पनि सरकारले अहिलेसम्म कुनै निचोड निकाल्न सकेको छैन,’ उपाध्यक्ष राजपालले आर्थिक अभियानसँग भने ।
आईसीपीमा डस्टी कार्गो भित्र्याउने व्यवस्था नहुँदा अहिले पनि दैनिक २ देखि ३ र्याक कार्गो इनर्वाबाटै भित्रिन्छ । स्वदेशमा क्लिंकर उद्योग बढेकाले कोइलाको आयात अझै बढ्ने अनुमान आयातकर्तासमेत रहेका राजपालको दाबी छ ।
यात्रु आवागमनका लागि बेग्लै लेन निर्माण गरिनुपर्ने प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ । ‘सुरक्षा संवेदनशीलताका कारण यात्रु र मालसामानको लेन एकै ठाउँमा उपयुक्त हुँदैन । यसका लागि बेग्लै व्यवस्थापन गरिनुपर्छ,’ पौडेलको तर्क छ ।
आईसीपी र सुक्खा बन्दरगाहको बीचमा अधिग्रहणको क्रममा रहेको ६२ बिगाहा जग्गालाई डस्टी कार्गोका लागि छुट्ट्याउन सकिने आयातकर्ताको भनाइ छ । आईसीपीमा नेपाल र भारततर्फ समान संरचना निर्माण भएकाले सञ्चालनमा कठिनाइ भएको छ ।
भारतको सहयोगमा निर्माण भएको आईसीपीमा आयात र निर्यातका लागि नेपाल र भारत दुवैतर्फ उस्तै पूर्वाधार छन् । लेन र प्रवेश तथा निकास मार्ग पनि उस्तै बनाइएको छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यातभन्दा आयातित वस्तु अधिक भएकाले आयाततर्फका संरचनामा चाप हुन्छ । आयाततर्फ सडक लेनदेखि गोदाम, पार्किङ अपर्याप्त छ । निर्याततर्फका संरचनाहरू खालीजस्तै रहने गरेको भन्सारले बताएको छ ।