ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

प्रारम्भिक चरणमा नगद लाभांशमा रोक, बोनस शेयर मात्र बाँड्न दिइने

२०७८ पौष, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो ।

विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो ।

निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा रोक लगाउने समितिको तयारी छ । जीवन बीमा कम्पनीहरूलाई भने केही सहजता प्रदान गरिने बताइएको छ ।

विशेषगरी निर्जीवन बीमातर्फ कोरोना बीमाको दाबी भुक्तानी हुन सकेको छैन । त्यसबापत झण्डै १० अर्ब भुक्तानी हुन बाँकी छ । सोही विषयलाई दृष्टिगत गरेर निर्जीवन बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा पूर्ण रोक लगाउने तयारी गरिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी भएको बताए । यस सम्बन्धमा यसै साता निर्देशन नै जारी हुने उनको भनाइ छ ।

‘कोरोना महामारी अझै कायम छ । यो अवस्थामा कम्पनीलाई अझ बलियो बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाउन लागेका हौं । बोनस शेयर वितरण गर्न भने हाम्रो कुनै बाधा हुने छैन ।’ उनका अनुसार कम्पनीहरूले नगद लाभांश नदिए पनि बोनस शेयर बाँड्न सक्नेछन् ।

नगद लाभांशमा रोक लगाउनुको कारण कम्पनीको पूँजी वृद्धि गर्ने योजना पनि रहेको पौडेलले बताए । ‘बीमा कम्पनीहरूमा रिस्कबेस क्यापिटलको आवश्यकता देखिइसकेको छ । त्यसका लागि बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउनैपर्ने हुन्छ,’ उनले भने, ‘सोही योजनामा सहयोग पुग्ने गरी अहिलेलाई नगद लाभांशमा रोक लगाएर बोनस शेयर दिन दबाब दिन लागेका हौं ।’ निकट भविष्यमा बोनस शेयर, हकप्रद शेयरबाटै कम्पनीहरूको पूँजी वृद्धि योजना ल्याइने उनको भनाइ छ ।

यस्तै, समितिले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश वितरण गर्न नदिने निर्णय पनि गरिसकेको छ । उक्त कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । अहिले नगद लाभांशमा रोक लगाउने नीति ल्याउन लागेपछि समितिले आइतवार उक्त निर्णय गरेको हो ।

समितिका कार्यकारी निर्देशक पौडेलले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश बाँड्न नदिनेगरी निर्णय भएको बताए । ‘अहिले बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौं । १/२ दिनमै यस सम्बन्धमा निर्देशन जारी हुन्छ,’ उनले भने, ‘तर उक्त कम्पनीले यसअघि नै नगद लाभांश घोषणा गरिसकेको थियो । त्यसैले त्यसलाई रोक्न समितिबाट छुट्टै निर्णय गरिएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)