ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पावर मार्केट समिट २०२२ : भारतले निजीक्षेत्रबाटै ५०० मेवा विद्युत् किन्ने

२०७८ पौष, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । भारतले नेपालको निजीक्षेत्रबाट ५०० मेगावाटसम्म विद्युत् किन्ने भएको छ । भारतको मनिकरण पावर लिमिटडले नेपाल पावर एक्सचेन्ज लिमिटेडमार्फत उक्त बराबरको विद्युत् किन्ने भएको हो ।

मनिकरणले सन् २०२२ का लागि मात्रा त्यस बराबरको विद्युत् किन्ने भएको हो । वर्षात्मा खपत भएर बढी हुने त्यस बराबरको विद्युत् मनिकरणले किन्नेछ ।

यस सम्बन्धमा सोमवार नेपाल पावर एक्सचेन्ज लिमिटेड र मनिकरण पावर लिमिटेडबीच सोमवार काठमाडौंमा सम्पन्न ‘नेपाल : पावर मार्केट समिट २०२२’ को समारोहमा दुवै कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) आशिष गर्ग र मनिकरण पावर लिमिटेडका एमडी नवजीत सिंह कल्सीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यान्वयन हुनका लागि भने नेपाल पावर एक्सचेन्ज लिमिटेडले नेपाल सरकारबाट विद्युत् व्यापारको अनुमति पाउनुपर्ने हुन्छ । निजीक्षेत्रबाट स्थापना भएको यो कम्पनीले अझै पनि विद्युत् व्यापारको अनुमति पाउन सकेको छैन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले उक्त कम्पनी स्थापना गरेको थियो । सरकारले चाँडै लाइसेन्स दिएमा यो वर्ष ५०० मेगावाट विद्युत् विक्री गरिने कम्पनीको भनाइ छ । अर्काे बर्ष त्यो थप बढ्ने सक्ने बताइएको छ ।

सरकारले पनि निजीक्षेत्रलाई विद्युत् व्यापार गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसअनुसार चाँडै लाइसेन्स पाउने कम्पनीको अपेक्षा छ ।

हालसम्म सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्रा भारतमा विद्युत् व्यापार विक्री गर्दै आएको छ । प्राधिकरणले हाल ३९ मेगावाट विद्युत् भारतमा निर्यात गर्दै आएको छ ।

मनिकरणले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत इक्युटी शेयर लगानी गर्ने सहमतिसमेत भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । त्यसको १५ प्रतिशत शेयर मनिकरणले लगानी गर्ने गरी सहमति भएको हो ।

मनिकरणले नेपालका हाइड्रो पावर कम्पनीसँग दीर्घकालीन रूपमा नै विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गर्ने सहमति पनि भएको छ । यो सम्झौता नेपालको क्षेत्रीय विद्युत् व्यापारका लागि कोसे ढुंगा सावित हुने सरोकारवालाहरू बताएका छन् ।

पावर मार्केट समिटलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने घोषणा गरिन् । यसका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको उनले बताइन् ।

‘अब उक्त मस्यौदामा सरोकारवालाहरूको राय सुझाव लिन्छौं । त्यसपछि आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याउनेछौं,’ उनले भनिन्, ‘त्यसपछि निजीक्षेत्रलाई पनि क्षेत्रीय रूपमा समेत विद्युत् व्यापार गर्न अनुमति दिनेछौं ।’

उनले अबको ३ महीनाभित्र बिमस्टेकअन्तर्गतका देशको ऊर्जामन्त्री र ऊर्जा सचिवहरूको संयुक्त बैठक हुने बताइन् । ‘बिमस्टेकका प्रतिनिधिहरू नेपाल भ्रमणमा आएका बेला यस्तो सहमति भएको छ । त्यो संयुक्त बैठकले पनि नेपालको विद्युत् व्यापारमा थप सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन् ।

कार्यक्रममा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको विद्युत् क्षेत्रमा निजीक्षेत्रको योगदान बढ्दै गएको बताए । ‘अहिले जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको योगदान ५० प्रतिशत छ । अब त्यो ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छौं,’ उनले भने । उनले अब नेपाल भारतबीच बिजुली आदनप्रदानको सम्बन्ध हुने बताए । ‘पहिला नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध थियो । अब त्यो मात्र होइन,’ उनले भने, ‘अब नेपाल र भारतबीच बिजुलीको सम्बन्ध पनि हुनेछ ।’ यो पावर ट्रेड सम्बन्धमा नेपालमा गरिएको यो पहिलो सम्मेलन हो । इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा उक्त समिट गरिएको हो ।

यो पनि हेर्नुस् :

प्राधिकरणको कम्पनीलाई विद्युत् व्यापार गर्न अनुमति, निजीलाई पनि दिने तयारी

विद्युत् व्यापारमा निजीक्षेत्र

निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने गरी कार्यविधि तयार

भारतीय बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाउनु स्वागतयोग्य : इप्पान

भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग

विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)