ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा जुत्ताचप्पल उद्योग : सम्भावनाभन्दा चुनौती बढी

२०७८ पौष, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो ।

नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको बजार विस्तार हुने सम्भावना देखाएको छ । तर, त्यसका लागि चुनौती पनि उत्तिकै मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा जुत्ताचप्पलका लागि आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा छैन । कच्चा पदार्थका लागि चीन र भारतलगायत मुलुकमा भर पर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ आयातको लागत पनि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ ।

नेपाली उत्पादनले भारत र चीनबाट आयातित सस्ता जुत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । साथै, औद्योगिक कर्जाको ब्याज तुलनात्मक रूपमा बढिरहेको छ । फलस्वरूप जुत्ताचप्पल उद्योग विस्तारमा चुनौती थपिएको छ ।

जुत्ताचप्पल उत्पादनमा आधुनिक प्रविधिको अभाव छ । नेपाली जुत्ताचप्पल उद्योगका लागि स्वदेशी कामदार छैनन् । भारतबाट कामदार ल्याउनुपर्ने छ । बजारमा नक्कली ब्रान्डको बिगबिगी रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसले बजार विस्तारमा चुनौती खडा गर्ने बताइएको छ ।

नेपाली जुत्ताचप्पलको प्रतिस्पर्धी क्षमता पनि कम रहेको छ । निर्यातमा आधारित उद्योगको गुणस्तर राम्रो भए पनि अधिकांश जुत्ताचप्पल उद्योग गुणस्तरीय मापदण्डअनुसार छैनन् । त्यसमाथि कोरोना महामारीका कारण झन्डै ९ महीना उद्योग बन्द हुँदा पनि समस्या थपिएको राष्ट्र बैंकको भनाइ छ । अधिकांश यस्ता उद्योग न्यून उत्पादन क्षमता (करीब ४० प्रतिशतमा) मा सञ्चालनमा छन् ।

यतिका चुनौती हुँदा पनि सम्भावनाका आधार भने सीमित देखिएका छन् । स्वदेशी जुत्ताचप्पलमा नेपाली ग्राहकको विश्वास र रुचि बढ्दै गएको भविष्यमा बजार विस्तार हुने देखिएको छ ।

जुत्ताचप्पल उद्योग सरकारको प्राथमिकतामा रहेका कारण पनि विस्तारको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, यस्ता उद्योगमा लगानी बढ्दै गएको छ । गुणस्तरमा सुधार ल्याउन सके विदेशी माग बढ्न जाने सम्भावना पनि छ ।

स्वदेशमा छाला प्रशोधन उद्योग र सोल निर्माण उद्योग स्थापनाको सम्भावना पनि रहेको देखाइएको छ । त्यसबाट रोजगारी र आय आर्जन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले जुत्ताचप्पल उद्योगमा सम्भावनासँगै चुनौती पनि देखिएको बताए । आर्थिक गतिविध सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको उनको भनाइ छ ।

सरकारको स्वामित्वमा रहेको बाँसबारी जुत्ता कारखानाको निजीकरणपश्चात् नेपालमा निजीक्षेत्रमा जुत्ता उद्योगको विस्तार भएको हो । सरकारले यसलाई आत्मनिर्भरता उन्मुख उद्योगको सूचीमा राखेको छ । जुत्ताचप्पल उद्योगले नेपालमा ६५ प्रतिशत बजार ओगटेको छ । उद्योग विभाग, २०७८ को प्रतिवेदनअनुसार नेपालमा जुत्ताचप्पल उद्योगमा करीब रू. १२ अर्ब लगानी रहेको छ । साथै, ६ ओटा ठूला जुत्ताचप्पल उद्योग, १५ ओटा मध्यमस्तरका उद्योग, ३ सयओटा साना उद्योग र १ हजार २ सयओटा लघु–उद्योगहरू छन् ।

आर्थिक वर्ष २०७७/७८ मा फुटवेयरको माग करीब ९ करोड जोर रहेको अनुमान छ । आव २०८१/८२ मा अर्थात् ५ वर्षमा त्यो २८ प्रतिशत वृद्धि गरी ११ करोड पुग्ने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)