ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै

२२०० सटर भएको आदर कम्पलेक्सको निर्माण अन्तिम चरणमा, १ हजार सटर भएको एनबीटीसी सञ्चालनमा

२०७८ पौष, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अमर बडुवाल

पुस २९, काठमाडौं। चोभारमा निर्माण भएको सुक्खा बन्दरगाह सञ्चालनमा आएमा नेपालकै सबैभन्दा ठूलो व्यापारिक हब बल्खु-कलंकी क्षेत्र हुने भएको छ ।

चोभारमा सुक्खा बन्दरगाह निर्माण अघि बढेसँगै न्यूरोडका ५०० भन्दा बढी व्यवसायीले बल्खुमा होलसेल पसलहरु मात्रै सञ्चालन गर्ने उद्धेष्यले कम्पलेक्स निर्माणको काम अघि बढाएका थिए ।

२०७२ को भूकम्पपछि न्यूरोडका व्यवसायीले बल्खु कलंकी क्षेत्रमा दुई ओटा ठूला होलसेल सपिङ कम्पलेक्सको निर्माण अघि बढाएका थिए । सुक्खा बन्दरगाहको निर्माण सकिएको छ । १ हजार सटर भएको नेशनल बिजनेश ट्रेड सेन्टर (एनबीटीसी) दुई वर्ष अघिनै सञ्चालनमा आइसकेको छ । २ हजार २०० बढी सटरसहितको आदर कम्पलेक्सको निर्माण भने अन्तिम चरणमा छ ।

त्योभन्दा अघिदेखि नै भाटभटेनी सुपर मार्केटले पनि कलंकीमा आफ्नो शाखा सञ्चालनमा ल्याइसकेको छ ।  कलंकीमै थप दुई ओटा व्यापारिक कम्पलेक्स निर्माणाधीन छन् । मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, ३ ओटा ठूला अस्पताल, ३ ओटा ठूला स्कुल/कलेज लगायतका पूर्वाधारहरु भएको उक्त क्षेत्र नेपालकै नं १ व्यापारिक हब हुने अपेक्षा गरिएको छ ।


८ अर्ब लागतको नेपालकै ठूलो कम्पलेक्स सञ्चालनमा आउँदै

बल्खुमा ४० रोपनी क्षेत्रफलमा फैलिएको नेपालकै सबैभन्दा ठूलो होलसेल सपिङ कम्पलेक्स अवको एक वर्षभित्र सञ्चालनमा आउने भएको छ । शुरुमा ९ तला निर्माण गर्ने गरि अघि बढेको कम्पलेक्स महानगरपालिकाले स्विकृती नदिएपछि ८ तला मात्रै निर्माण गरिएको आदर कम्पलेक्समा लगानीकर्ता उमानाथ सिटौलाले बताए ।

‘९ तला निर्माण भएको भए कम्पलेक्सका भवनभित्रै २ हजार ६०० ओटा सटर निर्माण गर्ने योजना थियो’, उनले आर्थिक अभियानलाई भने, ‘८ तला मात्रै निर्माण गर्न दिएपछि भवनभित्र २ हजार २०० ओटा सटर तथा पार्किङ, गोदाम र खुल्ला क्षेत्रमा ससाना सटरसमेत गरि करीब ३ हजार सटर निर्माण हुनेछन् ।'

न्यूरोडका ५४३ जना व्यावसायी मिलेर शुरु गरेको कम्पलेक्सको भौतिक संरचनाको स्वरुप तयार भइसकेको छ । शुरुमा ३७ रोपनी जग्गा किनेर अघि बढेको यो कम्पलेक्सले पछि थप ३ रोपनी जग्गा किनेको सिटौलाले बताए ।

सबैभन्दा तलका दुई तलामध्ये पहिलो तलामा पार्किङ र दोस्रो तलामा गोदाम रहने छ । त्यो बाहेक ६ तलामा मात्रै २ हजार २०० सटर  निर्माण गर्न  लागिएको उनले बताए ।

कम्पलेक्सको निर्माण लागत करीब ८ अर्ब रुपैयाँ रहेको छ । आदर मल्टिपर्पोज इन्भेष्टमेन्ट कम्पनीले यो कम्पलेक्स निर्माण गरिरहेको छ । पब्लिक कम्पनीनेले निर्माण गरेको यो कम्पलेक्स सञ्चालनमा  आएपछि  सर्वसाधारणलाई शेयरसमेत विक्री गर्ने योजना रहेको सिटौलाले बताए ।

कोटेश्वर-कलंकी चक्रपथ खण्डको खुल्ला बाटो र कम्पलेक्स भित्र रहेको पर्याप्त पार्किङ यहाँको आकर्षण हुने उनको भनाइ छ । 

अवको एक वर्षभित्रै यो कम्पलेक्स सञ्चालनमा आउँदा न्यूरोडमा रहेका करीब ३ हजार होलसेल पसलहरु बल्खु सर्ने छन् । एनबीटीसीमा  अहिलेनै ७०० भन्दाबढी होलसेल पसल विक्री भइसकेका छन् । सुक्खा बन्दरगाह पनि सञ्चालनमा आउँदा नेपालको नं १ व्यापारिक केन्द्र बल्खु कलंकी क्षेत्रनै हुने काठमाडौं महानगरपालिका - १४ की वडा अध्यक्ष सोभा सापकोटाले बताइन् ।

एनबीटीसी र भाटभटेनी सञ्चालनमा

होलसेल मार्केटकै लागि निर्माण गरिएको एनबीटीसी र खुद्रा  सपिङको लागि भाटभटेनी सुपर स्टोरको शाखा भने सञ्चालनमा आइसकेको छ । यी दुवै कम्पलेक्समा पर्याप्त पार्किङ र खुल्ला क्षेत्र राखिएको छ । जहाँ हजारौ मानिसहरु एकै पटक किनमेल गर्न सक्छन् ।

एउटै लाइनमा रहेका यी बिजनेस सेन्टरले अहिले नै कलंकी क्षेत्रको आर्थिक गतिविधिहरु चलायमान बनाई सकेका छन् । २५ रोपनी क्षेत्रफलमा फैलिएको एनबीटीसीमा १ हजार सटरहरु निर्माण गरिएको छ । पौने २ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको यो कम्पलेक्सको विक्री मूल्य अहिले ३ अर्ब रुपैयाँ पुगेको एनबीटीसीका सञ्चालक चिरञ्जिवी पौडेलले बताए ।

सिनेमा हलसहितको यो कम्पलेक्स सञ्चालनमा आएको केही समयमै कोभिड १९ शुरु भएको थियो ।  कोभिड - १९ ले समग्र व्यापार व्यवसाय सुस्ताएपछि यो कम्पलेक्समा सटर किनेका व्यवसायीहरु पनि कलंकी सरेका छैनन् । तर अव छिट्टै होलसेल व्यावसायीहरु यी कम्पलेक्समा आउने कुरामा आशावादी रहेको सञ्चालक पौडेलले बताए ।

खुद्रा सपिङको लागि केबीटीसीको निर्माण 

एनबीटीसीले नै निर्माण गरेको कलंकी बिजनेश ट्रेड सेन्टर (केबीटीसी) को निर्माण पनि अन्तिम चरणमा पुगेको  छ । एनबीटीसी होलसेललाई मात्रै लक्षित गरिएको कम्पलेक्स थियो भने केबीटीसी खुद्रा सपिङ कम्पलेक्स रहेको एनबीटीसीका व्यवस्थापक शैलेश चित्रकारले बताए ।

७ रोपनी क्षेत्रफलमा फैलिएको केबीटीसीमा करिब ५०० सटर रहने छन् । सिनेमा हलदेखि फुटकोर्टसम्म निर्माण हुने कम्पलेक्सको काम ६ महीनाभित्र सकिने चित्रकारले बताए ।

७० करोड रुपैयाँ लगानीमा निर्माण शुरु गरिएको केबीटीसीको बजार मूल्य १ अर्ब २५  करोड रुपैयाँ रहेको सञ्चालक पौडेलको भनाइ छ ।

एडभान्स इन्जिनयरिङ कलेज बल्खु सर्दै
कुपण्डोलमा रहेको एडभान्स इन्जिनियरिङ कलेज पनि आगामी साउन सम्म बल्खुमा सर्दै छ । रमेशकुमार सिलवाल अध्यक्ष रहेको यो कलेजले बल्खुमा भवन निर्माणको काम सकेको छ । अवको नयाँ शैक्षिक सत्र बल्खुबाटै सञ्चालन गर्ने योजना रहेको कलेजका सञ्चालकहरु बताउँछन् ।

९ तला अग्लो भवनको अधिकांस काम सकिएको छ । अहिले आन्तरिक फिनिसिङका कामहरु मात्रै बाँकी रहेका छन् । ती काम पनि धमाधम भइरहेका छन् ।

बल्खुमा वयोधा अस्पताल, कलंकीमा शहिद र नेशनल अस्पताल सञ्चालनमा छन् । बल्खुदेखि कलंकीसम्मको क्षेत्रमा बर्न हट कलेज, एडभान्स इन्जिनयरिङ कलेज, एलआरआई कलेजलगायत चल्तिका स्कुल/ कलेज पनि रहेका छन्  । यी कारणले पनि अवको व्यापारिक हब बल्खु कलंकी क्षेत्र हुनेमा स्थानीयहरु पनि आशावादी  छन् । 

अरु ठूला कम्पलेक्स पनि निर्माण हुने चरणमा

बल्खु कलंकी क्षेत्रमा होलसेल पसलहरु आउने भएपपछि अहिले वरपर दर्जनौ व्यापारिक कम्पलेक्सहरु निर्माणाधीन  छन् । ग्यास व्यवसायी मनोज खड्काले पनि भाटभटेनी नजिकै ७० हजार वर्गफिटको ९ तले भवन तयार पारेका छन् । श्रीकृष्ण र साईबाबा ग्यासका मालिक खड्काले बनाएको टावरमा कर्पोरेट हाउसका अफिस रहने छन् । अवको ६ महीना भित्रै टावरको निर्माण सकिने खड्काले बताए । 

यी बाहेक पनि अहिले बल्खुदेखि कलंकीसम्मको क्षेत्रमा दर्जनौ व्यवसायीक कम्पलेक्सहरु निर्माणको योजनामा छन् । चोभारमा रहेको बन्दरगाह सञ्चालनमा आउँदा सामान ल्याउन सजिलो हुने भएकाले यी क्षेत्रमा ठूला व्यापारिक कम्पलेक्सको निर्माण अघि बढेको एनबीटीसीका सञ्चालक पौडेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)