ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फेरि ऋण माग्ने अवस्थामा आयल निगम ! सञ्चित मुनाफा सकियो, स्थिरीकरण कोषले २ महीना धान्ने

मासिक ३ अर्ब घाटा व्यहोरीरहेको निगमलाई ग्यासमा मात्रै २ अर्ब बढी घाटा

२०७८ माघ, ३  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

माघ ३, काठमाडौ । पछिल्लो ५ वर्षदेखि आफ्नै स्रोतबाट पेट्रोलियम पदार्थ किनेर विक्री गरिरहेको आयल निगम सम्भवत: अवको दुई महीनापछि फेरि ऋण मागेर तेल किन्ने अवस्थामा पुग्ने देखिएको छ ।

पछिल्लो करिब एक वर्षदेखि आयल निगम निरन्तर घटामा छ । अन्तरराष्ट्रिय बजारमा उकालो लागेको तेलको मूल्यका कारण निगम १० महीनादेखि लगातार घाटमा गएको हो ।

निगमको मासिक घाटा अहिले तीन अर्ब रुपैयाँ हाराहारी छ । गत कात्तिकमा सर्वाधिक करिब ५ अर्ब रुपैयाँसम्म घाटामा गएको निगम अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य केही घटेपछि अहिले ३ अर्ब भन्दा केही बढी घाटामा छ । पछिल्लो ६ महीनामा निगमको घाटा १८ अर्ब रुपैयाँ नाघेको निगमले जनाएको छ ।

चालु आर्थिक वर्षको छ महीना (साउन–पौष) मा मात्रै निगमलाई १८ अर्ब बढी घाटा भएको निगमका निर्देशक नागेन्द्र झाले आर्थिक अभियानलाई जानकारी दिए । यसरी नै घाटा बढ्दै जाने हो भने निगमले ऋण लिनुको विकल्प नरहेको निर्देशक झा बताउँछन् ।

'निगमले तेल खरीद गर्न ऋण लिनु पर्ने आवस्था आउन सक्छ‘, झाले भने, 'सञ्चित मुनाफा सकियो,  मूल्य स्थिरीकरण कोषमा करीब १० अर्ब रुपैयाँ मात्रै बाँकी छ । यसले करीब २ देखि अढाई महिना मात्रै धान्छ । त्यसपछि त ल्याप्चे लगाउँदै ल्याउने हो ।'

कुन महीना कति घाटा ?
साउनमा १ अर्ब ७० करोड रुपैयाँ घाटामा गएको निगम भदौमा १ अर्ब ८२ करोड रुपैयाँ, असोजमा २ अर्ब २३ करोड रुपैयाँ, कार्तिकमा ४ अर्ब ९५ करोड रुपैयाँ, मसिरमा ४ अर्ब ३८ करोड रुपैयाँ र पुसमा ३ अर्ब १० करोड रुपैयाँ घाटामा गएको छ ।

नेपाल आयल निगमलाई भारतीय आयल निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाउँछ । तर तेलको मूल्य अत्यधिक वृद्धि भएको भन्दै सरकारको आलोचना भएपछि एक महीना यता नेपालमा तेलको मूल्य घटबढ भएको छैन ।

१५ दिनको तथ्याक हेर्ने हो भने पनि निगमले १ अर्ब ५७ करोड रुपैयाँ नोक्सान ब्यहोरेको छ । यहि अवस्था कायम रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी हुनसक्ने प्रक्षेपण गरेको छ ।

ग्यासबाट मात्रै मासिक दुई अर्ब बढी घाटा
आयल निगमलाई अहिले ग्यास विक्रीबाट मात्रै मासिक २ अर्ब रुपैयाँ बढी घाटा भइरहेको छ । एक सिलिण्डर ग्यासमै ६४७ रुपैयाँ घाटा खाइरहेको निगमले पेट्रोल लिटरमा १० रुपैयाँ र डिजेल लिटरमा साढे चार रुपैयाँ घाटा खाइरहेको छ ।

पन्ध्र दिनमा पेट्रोल विक्रीबाट ३४ करोड ११ लाख, डिजेल विक्रीबाट ४१ करोड ३० लाख, एलपी ग्यास विक्रीबाट १ अर्ब १५ लाख घाटा ब्यहोर्दा  मट्टिलेलमा १ करोड ८६ लाख आन्तरिकतर्फको हवाई इन्धन विक्रीबाट २ करोड ४३ लाख र  अन्तरराष्ट्रियतर्फको हवाई इन्धन विक्रीबाट १० करोड ९६ लाख रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण रहेको छ ।

पेट्रोलको खरीद मूल्य प्रतिलिटर ७६ रूपैयाँ ४८ पैसा, डिजेल प्रतिलिटर ७३ रूपैयाँ ६८ पैसा, मट्टितेल ७० रूपैयाँ ३० पैसा र आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रूपैयाँ ७७ पैसा छ । 

खरिद मूल्यमा सरकारी कर तथा मूल्य अभिवृद्धि कर, पेट्रोलमा ५७ रूपैयाँ ७३ पैसा, डिजेलमा ४० रूपैयाँ ४१ पैसा, मट्टितेलमा १९ रूपैयाँ ९८ पैसा, आन्तरिक हवाई इन्धनमा १८ रूपैयाँ १ पैसा, अन्तर्राष्ट्रिय हवा इन्धनमा ९ रूपैयाँ १० पैसा र एलपी ग्यास सिलिन्डरमा २८७ रूपैयाँ ३१ पैसा अतिरिक्त शुल्क लाग्दै आएको छ ।

त्यस्तै, निगमले कार्यालय सञ्चालन, इन्धन मौज्दात, ब्याज, प्राविधिक, ह्रासलगायत विभिन्न शीर्षकमा गरी प्रतिलिटर पेट्रोलमा एक रूपैयाँ ९६ पैसा, डिजेलमा एक रूपैयाँ ५३ पैसा, मट्टितेलमा एक रूपैयाँ ४९ पैसा आन्तरिकतर्फ हवाई इन्धनमा एक रूपैयाँ ४२ पैसा, अन्तरराष्ट्रियतर्फ  हवाई इन्धनमा एक रूपैयाँ ४१ पैसा र प्रति सिलिन्डर ग्यासमा ११ रूपैयाँ ६५ पैसा थप जोड्ने गरेको छ ।

ढुवानी भाडा र विक्रेताको मुनाफा गरी पेट्रोलको कुल लागत मूल्य प्रतिलिटर एक सय ४६ रूपैयाँ ५० पैसा, डिजेलको एक सय २३ रूपैयाँ ५५ पैसा, मट्टितेलको ९८ रूपैयाँ ७० पैसा, आन्तरिकतर्फ हवाई इन्धनको ९२ रूपैयाँ ०४ पैसा, अन्तरराष्ट्रियतर्फ हवाई इन्धनको ८३ रूपैयाँ १ पैसा र ग्यासको लागत मूल्य प्रति सिलिन्डर २ हजार २ सय २२ रूपैयाँ ०८ पैसा रहेको छ ।

काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर एक सय ३६ रूपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १९ रुपैयाँ, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय रूपैयाँ, अन्तरराष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.८९५ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर एक हजार  ५ सय ७५ रूपैयाँ तोकिएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा,  डिजेलमा ४ रुपैयाँ ५५ पैसा र एलपी ग्याँस प्रतिसिलिन्डर ६ सय ४७ रुपैयाँ घाटा ब्यहोर्दै आएको छ । मट्टितेल र हवाई ईन्धनमा भने झिनो नाफा खाएर विक्री गरिरहेको छ ।  

भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३८ रूपैयाँ २४ पैसा, डिजेल ३१ रूपैयाँ ३१ पैसा, अन्तरराष्ट्रिय हवाई इन्धन प्रतिलिटर ०.१० अमेरिकी डलर र ग्यास प्रतिसिलिन्डर ५० रूपैयाँ ६५ पैसा सस्तो छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)