ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहुघाट जलविद्युत् आयोजना : पाँच वर्षमा ३८ प्रतिशत मात्रै भौतिक प्रगति

२०७८ माघ, ४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजनामा अहिलेसम्म उक्त भौतिक प्रगति भएको हो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापित उक्त कम्पनीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले सुरुङ र विद्युत्गृह निर्माण गरिरहेको आयोजनाले बताएको छ ।

आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको बताए । कुल ६ दशमलव २ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २ दशमलव २ किलोमिटर मात्र निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्जसाफ्ट र सुरुङको ब्रेक थ्रू भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युत्गृह र ड्याम साइट निर्माणमा अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले बताएको छ ।

विद्युत्गृहबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटरेबल पुल निर्माण भएको छ । यस्तै राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइन–लुपआउटका चारओटा टावर तयार भएको छ । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरू गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

२०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालित भएको हो । विद्युत्गृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनीका प्रबन्ध सञ्चालक केसीले बताए ।

३६ महिना अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब १ वर्ष मात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ ।

राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रका अधिकांश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुनर्निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले आफूहरू समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए । उनका अनुसार अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न १ लाख ७५ हजार मात्रै रकम दिने गरिएको छ । उक्त रकम अपुग हुने भएकाले स्थानीयवासी चर्किएकै घरमा जोखिमपूर्ण रूपमा बस्ने गरेका छन् । पिप्लेमा मात्रै दर्जनौं घर चर्किएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)