ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंक तथा वित्तीय संस्थाको सीएसआर सम्बन्धी मार्गदर्शन तयार

दिगो विकास लक्ष्यको क्षेत्रमा पनि खर्च गर्न पाइने

२०७८ माघ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब दिगो विकास लक्ष्य २०१६–२०३० पहिचान गरेका क्षेत्रहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी गतिविधि गर्न पाउने भएका छन् । साथै, विश्व सम्पदा र मानवीय सहयोग तथा राहत क्षेत्रमा पनि सीएसआरको गतिविधि गर्न पाइने प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गरको छ । सोही मस्यौदामा शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लगायत क्षेत्रमा सीएसआरका गतिविधि गर्नुपर्ने प्रस्ताव गरिएको हो ।

राष्ट्र बैंकले सरोकारवालाहरूको सुझावका लागि उक्त मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको हो । सरोकारवालाहरूले ३५ दिनभित्र दिएको सुझावको आधारमा उक्त मस्यौदा आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याइने राष्ट्र बैंकको भनाइ छ ।

शिक्षा अन्तर्गत संस्थागत विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएका वर्ग तथा अपांगता भएका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने बताइएको छ । साथै, विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनर्निर्माणमा पनि सीएसआर बापतको खर्च गर्न सकिने प्रस्ताव गरिएको छ । यसका अलावा विद्यालय तथा कलेजलाई कम्प्युटर, प्रोजेक्टर, स्मार्ट बोर्ड, ह्वाइट/ब्ल्याक बोर्ड, पुस्तक लगायत शैक्षिक तथा फर्निचर सामग्री पनि दिन सकिने प्रस्ताव गरिएको छ । तर, निजीक्षेत्रका विद्यालय तथा कलेजमा सीएसआर गतिविधि गर्न नपाइने मस्यौदामा उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपकरण, औषधि लगायत सामग्री तथा उपकरण दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । स्वास्थ्य संस्थाहरूमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायत आधारभूत स्वास्थ्य तथा सरसफाइ सामग्री पनि बनाउन सकिने बताइएको छ ।

न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य, निम्न वर्गका अपांगता भएका व्यक्तिलाई आवश्यक हुने वैशाखी, ह्वीलचियर, मेडिकल बेड जस्ता जीवनोपयोगी सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यसैगरी ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन पनि गर्न सकिने बताइएको छ ।

मानवीय सहयोग तथा राहत अन्तर्गत भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी लगायत प्राकृतिक विपत्तिका पीडितलाई वितरण गरिने लत्ता कपडा, खाद्यान्न, औषधि, टेन्ट, भाँडा लगायत बन्दोबस्तीका सामग्री दिँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । कुपोषण भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च पनि सीएसआरमा गणना गर्न पाइने प्रस्ताव गरिएको छ ।

वातावरणीय क्षेत्र अन्तर्गत सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा वृक्षरोपण गर्न सकिनेछ । साथै, सार्वजनिक स्थलमा राखिने वातावरण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री पनि राख्न सक्नेछन् । यसका अलावा वित्तीय साक्षरता सम्बन्धी कार्य गर्दा हुने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ ।

यस्तै, ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतीक्षालय, सडक बत्ती, सार्वजनिक शौचालय लगायतको निर्माण, पुनर्निर्माण तथा संरक्षणमा गरिने खर्च पनि सीएसआरमा गणना गर्न सकिनेछ । यस्तै, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, कार्यरत कर्मचारीका लागि महामारीजन्य रोगबाट सुरक्षित राख्न, रोकथाम गर्न तथा उपचार गर्दा लाग्ने खर्च पनि सीएसआरमा नै राख्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक आवको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट सीएसआर कोषमा जम्मा भएको न्यूनतम ६० प्रतिशत रकम चालू आवमै खर्च गर्नुपर्नेछ । कारणवश ४० प्रतिशत रकम खर्च नभएमा आगामी आर्थिक वर्षमा खर्च गर्न सकिने व्यवस्था गरिएको छ । यसका अलावा एउटा सीएसआर सम्बन्धी कार्यमा ५ प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाइने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)