ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शहर केन्द्रित भए बीमा कम्पनी

अब शहरमा शाखा स्थापना गर्न दिँदैनौं : बीमा समिति

२०७८ माघ, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीहरूको शाखा स्थापनामा प्रदेशगत रूपमा असन्तुलन देखिएको छ । जीवन र निर्जीवन दुवै प्रकारका कम्पनीको शाखा विस्तारमा प्रदेशगत असन्तुलन देखिएको हो ।

बीमा समितिले कम्पनीहरूको प्रदेशगत सहभागिताको विषयमा तयार गरेको एक रिपोर्टले यस्तो देखाएको हो । उक्त रिपोर्टअनुसार तुलात्मक रूपमा सुगम मानिने बागमती प्रदेशमा बीमा कम्पनीको शाखा कार्यालय बढी छ । अन्यको तलुनामा दुर्गम मानिने कर्णाली प्रदेशमा भने बीमा कम्पनीको न्यून उपस्थिति छ ।

नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले मुलुकभर २ हजार २६९ शाखा स्थापना गरेका छन् । त्यसमध्ये बागमती प्रदेशमा मात्र ५९३ ओटा शाखा छन् । कर्णाली प्रदेशमा भने जीवन बीमा कम्पनीका १४८ ओटा मात्र शाखा खोलिएका छन् ।

निर्जीवनतर्फ २० कम्पनीले मुलुकभर १ हजार ८ ओटा शाखा स्थापना गरेका छन्, जसमध्ये बागमती प्रदेशमा मात्र ३०५ ओटा छन् । कर्णालीमा भने ४३ ओटा शाखा मात्र स्थापना भएका छन् ।

बीमाको महत्त्व अनुसार दुर्गम ठाउँमा यसको झन् बढी आवश्यकता हुन्छ । तर, कम्पनीहरू सुगम ठाउँमा केन्द्रित हुँदा दुर्गमका मानिस बीमाको सेवाबाट वञ्चित भएको तथ्यांकले पुष्टि गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि कम्पनीको प्रदेशगत उपस्थिति असन्तुलित देखिएको बताए । ‘बीमा कम्पनीको उपस्थिति प्रदेशगत रूपमा असन्तुलित देखिएको मात्र होइन, उनीहरू शहर केन्द्रित पनि छन्,’ उनले भने, ‘हामीले कम्पनीहरूलाई ग्रामीण तहमा जान पटक पटक भनेका छौं । तर, उनीहरूले मानेको देखिँदैन । परिणास्वरूप दुर्गमका मानिस बीमा सेवाबाट वञ्चित भएका छन् ।’

यता, बीमा कम्पनीहरूलाई गाउँ गाउँमा शाखा नै स्थापना गरेर सञ्चालन गर्न भने चुनौती छ । गाउँबाट हुने व्यवसायले सम्बन्धित शाखाको सञ्चालन/व्यवस्थापन गर्न गाह्रो हुने उनीहरूको भनाइ छ ।

यद्यपि, गाउँ गाउँमा सम्पर्क कार्यालय भए पनि स्थापना गर्नुपर्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् । ‘अहिले सबै गाउँ नगरउन्मुख भएका छन्, त्यो अवस्थामा पालिकाहरूमा गएर शाखा स्थापना गर्न सहज नै हुन सक्छ,’ उनले भने ।

यस्तै, कम्पनीहरू शहर केन्द्रित देखिएपछि त्यसमा कडाइ गर्ने तयारीमा बीमा समिति रहेको समेत उनले बताए । अब कम्पनीहरूलाई शहरमा शाखा स्थापना गर्न नै नदिनेगरी समितिले रणनीति बनाउने उनले जानकारी दिए । ‘शहरी क्षेत्रमा बीमा कम्पनीको उपस्थिति पर्याप्त मात्रामा भइसकेको छ । अब शहरमा शाखा स्थापना गर्न स्वीकृति नै दिँदैनौं । पालिकामा शाखा स्थापना गर्न प्रोत्साहन गर्छौं,’ उनले भने, ‘यद्यपि, कुनै कुनै शहरमा बीमा कम्पनीको उपस्थिति कम छ भने त्यसमा सहजीकरण हुन सक्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)