ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी पुनर्बीमा कम्पनीहरूले बढाए प्रिमियम दर

नेपालमा बीमा महँगो हुने

२०७८ माघ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना महामारी र जलवायु परिवर्तनका कारण बीमा दाबी बढेपछि अन्तरराष्ट्रिय पुनर्बीमा कम्पनीहरूले प्रिमियम रेट बढाएको पाइएको छ । कोरोना महामारी र जलवायु परिवर्तनका कारण बीमा दाबी बढेको मात्रा नभएर कम्पनीहरूको आम्दानीसमेत घटेको छ । त्यसमाथि बीमा व्यवसायमै संकुचन आएको छ, फलस्वरूप विदेशी पुनर्बीमा कम्पनीहरू प्रिमियम दर बढाउन बाध्य भएका हुन् ।

कोरोना महामारीका कारण पुनर्बीमा कम्पनीहरूको लगानीबाट हुने आम्दानी घटेको छ । विदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरूले नेपालमा जस्तो बैंक निक्षेपमा बढी लगानी गर्दैनन्, उनीहरूको लगानीको दायरा नै फराकिलो बनाइएको छ । त्यसरी उनीहरूले लगानी गरेका क्षेत्रहरूमा कोरोना प्रभाव परेपछि आम्दानी नै घटेको बताइएको छ ।

साथै, कोरोनाले अधिकांश मुलुकको मृत्युदर बढेको छ, फलस्वरूप बीमा कम्पनीहरूको मृत्य दाबी बढेको छ । त्यसकारण पनि पुनर्बीमा कम्पनीहरूले प्रिमियम दर बढाएको जानकारहरू बताउँछन् ।

जलवायु परिवर्तनका कारण विश्वका अधिकांश मुलुकमा सुनामी, आँधी, बाढीपहिरोजस्ता ठूलाठूला प्राकृति विपत्तिका घटना भइरहेका छन् । यस्ता प्राकृतिक विपत्तिका कारण विश्वभरका विभिन्न आयोजना, पूर्वाधार तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । फलस्वरूप बीमा कम्पनीहरूमा दाबी रेसियो बढ्दो छ ।

तर, त्यसअनुसार बीमा व्यवसाय आएको छैन । त्यही अवस्थालाई दृष्टिगत गर्दै विदेशी पुनर्बीमा कम्पनीहरूले प्रिमियम दर बढाएको जानकारहरू बताउँछन् ।

नेपाल पुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी विदेशी पुनर्बीमा कम्पनीहरूले प्रिमियम दर बढाएको स्वीकार गर्छन् । कोरोना महामारी र जलवायु परिवर्तनका कारण विदेशी पुनर्बीमा कम्पनीहरू प्रिमियम दर बढाउन बाध्य भएको उनको भनाइ छ ।

‘कोरोना महामारीका कारण पुनर्बीमा कम्पनीहरूमा लगानीबाट हुने आम्दानी नै घट्यो । त्यसमाथि कोरोना महामारी र जलवायु परिवर्तनका कारण दाबी रेसियो नै बढ्यो । तर, त्यसअनुसार व्यवसाय भने आएन,’ उनले भने, ‘त्यसपछि विदेशी कम्पनीहरूले प्रिमियम रेट बढाएका हुन् । रेट्रोशेसन (पुनर्बीमाको पनि पुनर्बीमा) मार्फत हस्तान्तरण गर्ने जोखिम पनि पहिलेभन्दा महँगो भएको छ ।’

कतिपय पुनर्बीमा कम्पनीको त रेटिङमा नै संकुचन आएको उनको भनाइ छ । पछिल्लोपटक भारतीय पुनर्बीमा कम्पनी जीआईसीको रेटिङ ए माइनसबाट त्रिपल बी मा झरेको उनले बताए ।

विदेशी पुनर्बीमा कम्पनीहरूले प्रिमियम रेट बढाउँदा नेपालमा सर्वसाधारणले गर्ने बीमा (जीवन/निर्जीवन) नै महँगो हुने उनको विश्लेषण छ ।

अब विदेशी पुनर्बीमा कम्पनीहरूले प्रिमियम रेट बढाउँदा त्यसको प्रत्यक्ष असर ग्राहकलाई नै पर्छ । पुनर्बीमाले प्रिमियम दर बढाएपछि बीमा कम्पनीहरूले पनि ग्राहकसँग लिने शुल्क बढाउनैपर्छ ।’ साथै, प्रिमियम महँगो भएपछि बीमा गर्नेको संख्यामा पनि संकुचन आउने सम्भावना रहेको उनको भनाइ छ ।

अब विदेशी पुनर्बीमा कम्पनीहरूले तोक्ने शर्तहरू पनि पहिलाभन्दा कडा हुन सक्ने उनले बताए । ‘अब विदेशी बजारमा पुनर्बीमा गर्न पहिलाको जस्तो सहज हुँदैन । अब विदेशी कम्पनीहरूको तोक्ने टर्म एन्ड कन्डिसन नै पहिलाको भन्दा कडा हुन सक्छ,’ उनले भने, ‘तसर्थ, अब बीमा गर्दा धेरै विषयलाई ध्यान दिनुपर्ने देखिन्छ ।’

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षत्रीले पनि अन्तरराष्ट्रिय पुनर्बीमा कम्पनीहरूले प्रिमियम दर बढाएको बताए । ‘नेपालमा पनि जलवायु परिवर्तनका कारण बाढीपहिरोका घटना व्यापक मात्रामा हुन थालेको छ । फलस्वरूप नेपालमै इन्जिनीयरिङ बीमामा दाबी बढेको अवस्था छ,’ सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेका क्षत्रीले भने, ‘विदेशतिर त दाबी रेसियो नै उच्च मात्रामा बढेको छ । तर, त्यसअनुसारको व्यवसाय आएको छैन ।’ जीवन बीमक संघका उपाध्यक्ष तथा सिटिजन्स लाइफका सीईओ पोषक पौडेलले पनि विदेशी पुनर्बीमा कम्पनीहरूले प्रिमियम दर बढाएकाले नेपालमा बीमा महँगो हुन सक्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)