ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साहसिक पर्यटन प्रवर्द्धनमा व्यवसायीको जोड

२०७८ माघ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्नेमा पर्यटन व्यवसायी र सरोकारवालाले जोड दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटन गर्न उपयुक्त ठाउँको पहिचान गरेर ‘एक जिल्ला : एक साहसिक खेलकुद गतिविधि’ विकास गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् ।

गण्डकीका ११ ओटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा साहसिक खेलकुद गतिविधि सञ्चालन, अन्तरराष्ट्रिय स्तरमा त्यसको प्रचारप्रसार र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएर रोजगारी सृजना गर्नुपर्ने व्यवसायी बताउँछन् । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए ।

सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाइमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाइने बताए । यस्तै पोखरालाई केन्द्र बनाएर प्रदेशका जिल्लाहरूमा साहसिक खेलकुद गन्तव्यको रूपमा विकासमा लाग्नुपर्ने उनले बताए । गण्डकीका ११ जिल्लामा फरक फरक विषेशता रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने उनले औंल्याए । ‘एउटै प्रदेशमा हिमाल, पहाड र तराईको केही भाग समेटिएकाले यसलाई विषेश योजना बनाएर पर्यटन प्रवद्धन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले साहसिक पर्यटन विकास लगायत अन्य योजना अगाडि बढाउन आवश्यक छ ।’

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिबारे धेरे चर्चा हुने गरेको भए पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रूपमा चर्चा नभएको बताए । परिषद्ले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको उनको भनाइ छ ।

प्रदेशको मुख्य आधार नै पर्यटन भएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन तीनओटै सरकारले विशेषगरी विभिन्न ठाउँहरूमा साहसिक खेल पर्यटनका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्दप्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको टिप्पणी गरे । साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशमा खेल पर्यटनको प्रचुर सम्भावना भएकाले यसको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न सके यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनको छ ।

पर्यटनविद् डा. रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोटर््समा ध्यान दिनुपर्ने बताए । खेलकुद आफैमा पर्यटनको क्षेत्र भए पनि यसको पूर्वाधार विकास र प्रचारप्रसारको खाँचो उनले औंल्याए ।

प्रदेशका हरेक जिल्लामा साहसिक खेलकुदको गन्तव्यको पहिचान गर्नुपर्ने भन्दै उनले त्यसको ब्राण्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए । पर्यटकको बसाइ लम्ब्याउन समेत साहसिक खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यसका लागि पर्याप्त बजेट र आवश्यक योजनासहित बढ्नुपर्नेमा जोड दिए । ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन्,’ उनले भने, ‘सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यटकीय गतिविधि र साहसिक खेल पर्यटनको विकास गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)