ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्रीको सम्बोधन : तथ्यलाई ढाकछोप गर्ने प्रयास

अर्थतन्त्रका विद्यमान समस्या र चुनौतीलाई सम्बोधनले छुँदै छोएन

२०७८ माघ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । मुलुकको अर्थतन्त्र संकग्रस्त अवस्थामा धकेलिरहेका बेला अर्थतन्त्र ‘ठीकठाक’ रहेको आशयका साथ सरकारको बागडोर सम्हालिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले हालै देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । तथ्यलाई ढाकछोप गर्दै उहाँ लय छाडिसकेको अर्थतन्त्रको बचाउमा उत्रिनु भएको हो ।

स्वायत्त निकाय नेपाल राष्ट्र बैंक, नेपालको ठूलो दातृ निकायका रूपमा रहिआएको विश्व बैंकले मुलुकको अर्थतन्त्र र आर्थिक सूचकांक सकारात्मक नरहेको तथ्य बाहिर ल्याए पनि सरकारले ६ महीना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले हालै देशवासीको नाममा सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गर्नुभयो ।

बितेको ६ महीनामा आर्थिक क्रियाकलापमा अपेक्षित सुधार भएको, निर्यातमा बढिरहेको तथा अर्थतन्त्रका सूचकहरू सुधारात्मक रहेको बताए पनि अर्थतन्त्रका विद्यमान समस्या र चुनौतीबारे उहाँको सम्बोधनले कतै छुँदै छोएन ।

प्रधानमन्त्री देउवाले चालू आवको आर्थिक वृद्धिदर गतवर्षको भन्दा माथि रहने दाबी गर्नुभयो । नेपालको ठूलो दातृ निकाय विश्व बैंकले गतवर्ष १ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको अनुमान गरेको थियो  । र, चालू आर्थिक वर्षमा पनि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । सरकारले बजेटमार्फत चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले बारम्बार लक्ष्य पूरा हुने दाबी प्रस्तुत गर्दै आएका छन् । तर, चालू आर्थिक वर्षको आधा समय बितिसक्दा पनि विकासलक्षित पूँजीगत खर्च १४ प्रतिशतको हाराहारी मात्रै छ । यसले गर्दा बजेटले तोकेको लक्ष्यअनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने निश्चित छ ।

नेपाल राष्ट्र बैंकले चालू वर्ष सरकारले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुनै मुश्किल रहेको बताउँदै आएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रमहरूमा ४ देखि ५ प्रतिशतको हाराहारीभन्दा बढी वृद्धि नहुने आकलन गर्दै आएका छन् । प्रधानमन्त्री देउवाले पछिल्लो ३ महीनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा दबाब पर्न गए पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने दाबी गर्नुभयो । अर्थतन्त्रमा आइपरेको गम्भीर चुनौतीबारे उहाँले कतै उल्लेख गर्नु भएन । मासिक रूपमा राष्ट्र बैंकले निकाल्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले अर्थतन्त्रका अधिकांश सूचक थप नकारात्मक हुँदै गएको देखाउँदै आएको छ ।

गत मङ्सिरसम्मको राष्ट्र बैंकको प्रतिवेदन हेर्दा विदेशी मुद्रा सञ्चिति गत असारको तुलनामा १४ दशमलव ७ प्रतिशतले घटेर १० अर्ब ३ करोड डलरमा झरेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जानु अर्थतन्त्रका लागि निकै जोखिमपूर्ण अवस्था हो ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार अहिले नै विदेशी मुद्राको सञ्चिति आत्तिनुपर्ने स्थितिमा नपुगिसके पनि यो तीव्र गतिले घट्दै गए मुलुकलाई अप्ठ्यारो पर्ने निश्चित देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार मङ्सिरसम्म देशको शोधनान्तर स्थिति रू. १ खर्ब ९५ अर्बले घाटामा छ । यो अहिलेसम्मकै उच्च शोधनान्तर घाटामध्येको एक हो । चालू खाता घाटा पनि रू. ३ खर्ब नाघिसकेको छ ।

देशको अर्थतन्त्रको मुख्य टेकोका रूपमा रहेको विप्रेषण ६ दशमलव ८ प्रतिशतले घटेको देखिन्छ । देशको बाह्य क्षेत्रमा मात्र होइन, आन्तरिक अर्थतन्त्रमा पनि चुनौती निम्तिएको छ । मङ्सिरको तथ्यांकले देश फेरि ६ वर्षपछि उच्च मूल्यवृद्धिको चरणमा प्रवेश गर्न लागेको राष्ट्र बैंकले पछिल्लो प्रतिवेदनबाट स्पष्ट हुन्छ ।
प्रतिवेदनअनुसार, मङ्सिरमा मूल्यवृद्धि दर ७ दशमलव ११ प्रतिशत पुगेको छ । यो चालू वर्षको मौद्रिक नीतिले लक्ष्य राखेको ६ दशमलव ५ प्रतिशतको सीमाभन्दा धेरै हो । यो वर्ष साउनदेखि नै मूल्यवृद्धि उकालो लाग्दै आएको छ ।

असोजमा ४ दशमलव २ प्रतिशत रहेको मूल्यवृद्धि कात्तिकमा ५ दशमलव ३२ प्रतिशत पुगेको थियो भने मङ्सिरमा भने थप चुलिएर ७ दशमलव ११ प्रतिशत पुग्नुले ज्यालादारी गरेर चल्नेहरूको जिन्दगी कष्टकरपूर्ण बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्री देउवाले सार्वजनिक खर्चमा सरकारको असफलतालाई ढाकछोप गर्नुभएको छ । चालू आवको पहिलो ६ महीना बित्दा विकासलक्षित पूँजीगत खर्च १४ प्रतिशतसमेत भएन । यो पछिल्ला वर्षहरूकै न्यून हो । यो वर्ष सरकारले विकास निर्माणका लागि पूँजीगत शीर्षकमा रू.३ खर्ब ७८ अर्ब बजेट छुुट्ट्याए पनि पुस मसान्तसम्म रू. ५० अर्ब ८० करोड मात्रै खर्च भएको छ ।

अन्तरराष्ट्रिय मुद्राकोषबाट लिएको ४ सय मिलियन अमेरिकी डलर ऋण करीब रू.४८ अर्बलाई पनि प्रधानमन्त्री देउवाले आफ्नो सफलताका रूपमा लिनुभयो । खासमा यो ऋण अर्थतन्त्रभित्र उत्पन्न भएको संकट टार्न लिइएको हो र ऋण भनेको सरकारले अन्तिम परेपछि लिने अस्त्र हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)