पर्वत । पर्वतको कुश्मामा घण्टाघर निर्माण प्रक्रिया शुरू भएको छ । कुश्मा नगरपालिकाको अगुवाइमा सदरमुकाम कुश्मामा घण्टाघर निर्माण गर्न लागिएको हो । नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घण्टाघर निर्माणलाई प्राथमिकतामा राखेको थियो । घण्टाघर निर्माणका लागि नगरपालिकाले विस्तृत परियोजना निर्माण गरी टेण्डर आह्वान गरिसकेको छ ।
कुल ६० लाख ८८ हजार ६९० रुपैयाँ बजेट खर्च गरी घण्टाघर निर्माण गर्न टेण्डर आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । घण्टाघर निर्माणका लागि नगरपालिकाले पर्यटकीय क्षेत्र बन्जी साइटमा जग्गा व्यवस्थापन गरेको गुरुङले बताए । जिल्ला सदरमुकाम कुश्माको पहिचान झल्किने गरी घण्टाघर निर्माण गर्न थालिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताएका छन् ।
हरेक सभ्य शहरमा घण्टाघर निर्माण गर्ने र त्यसमा बजारको ऐतिहासिकता झल्किने गरेको भन्दै उनले कुश्मामा बन्ने घण्टाघरले पनि कुश्माको पहिचान बोक्ने बताए । कुश्मा नगरपालिका पर्यटकीय क्षेत्रको रूपमा स्थापित हुँदै आएकोमा अब घण्टाघरले अर्को आयाम थप्ने विश्वास लिइएको उनको भनाइ छ । कुश्माको चाक्लेडिलमा बन्जी जम्पसँगै साहसिक पर्यटनका पूर्वाधार निर्माण भएपछि पर्यटक आगमन बढेको छ ।
यस क्षेत्रमा हालै जीपलाइन पनि सञ्चालनमा आएको छ । पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिँदै गएको अवस्थामा घण्टाघर निर्माण भएपछि पर्वतको पहिचान बढ्ने नगर उपप्रमुख सीता काफ्ले लामिछानेले बताइन् । कुश्मा नगरपालिकामा जनप्रतिनिधिको कार्यकाल सकिने बेला भइसकेको छ । जनप्रतिनिधि बिदा भएर गए पनि जनताको स्मरणमा रहनेगरी घण्टाघर बनाइने लामिछानेले बताएकी छिन् ।