ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बहुतले पार्किङ बनाउन रू. ३ अर्ब ६० करोड लगानी : २ वर्षभित्र तयार गर्ने लक्ष्य

२०७८ माघ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ ।

कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने ।

सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए ।
शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए ।

कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ ।

कोषले बहुतले मेकानिकल पार्किङ बनाउन कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने उल्लेख गरेको छ । यसका साथै प्रस्ताव पेश गर्दा उक्त क्षेत्रफलसहितको जग्गाधनी प्रमाणपत्र (लाजपुर्जा)को प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नविकरणसहितको दर्ता प्रमाणपत्रको प्रतिलिलि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयजस्ता कागजातहरू पेश गर्न पनि कोषले आग्रह गरेको छ । उक्त सूचनाअनुसार कोषले सम्भाव्य स्थानहरूमा थापाथली, त्रिपुरेश्वर, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बनोश्वर, गौशला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार,विशालनगर, भाटभटेनी,ज्ञानेश्वर, नक्साल, गैह्रीधारा, हाँडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)