ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला तोकेर बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न लगाइँदै

२०७८ माघ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ ।

बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो ।
निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ ।

जीवन बीमा कम्पनीहरूलाई जिल्ला छुट्ट्याउने काम भइरहेको बीमा समितिको भनाइ छ । समितिअनुसार जीवन बीमा कम्पनीहरूले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरूले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूलाई बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकिन लागेको बताए । अबको केही दिनमा नै यस सम्बन्धमा निर्देशन जारी गरिने उनको भनाइ छ ।

‘बीमा साक्षरतालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागेका हौं । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरेका छन्, त्यही जिल्लामै उनीहरूलाई यो जिम्मेवारी दिनेछौं,’ उनले भने, ‘त्यसअनुसार निर्जीवन बीमा कम्पनीहरूमा तत्कालै यो लागू हुनेछ ।’ बीमा कम्पनीहरूले यस्तो कार्यक्रम गर्दा हुने खर्च संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने व्यवस्था गरिनेछ । यस्तो कार्यक्रम ल्याउँदा बीमासम्बन्धी साक्षरता कार्यक्रम प्रभावकारी हुने र बीमा पहुँच बढाउन सहयोग पुग्ने समितिको अपेक्षा छ ।

हाल समितिले स्थानीय तहहरूमा बीमासम्बन्धी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । त्यो अवस्थामा बीमा कम्पनीहरूले जिल्लागत रूपमा बीमा साक्षरता कार्यक्रम गर्दा प्रभावकारी हुने पौडेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)